• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्ने तीव्र तयारी

बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्ने तीव्र तयारी

  • मङ्लबार, माघ २९, २०८१
बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्ने तीव्र तयारी

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्न तीव्र तयारी थालिइएको छ । समाजमा विद्यमान कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने गरी तयारी थालेको हो । हालसम्म बडीमालिका नगरपालिकाले वडा नम्बर २, ३, ४, ५, ६ र ९ गरी ६ वटा वडा छाउगोठ मुक्त वडा घोषणा गरी सकेको नगरपालिकाले जनाएको छ । त्यस्तै बाँकी रहेका वडा नम्बर १, ७ र ८ लाई पनि यो बर्षभित्रै छाउगोठ मुक्त वडा घोषणा गरेर अर्को बर्षसम्म नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताएकी छन् ।

उनका अनुसार अहिले छाउगोठ मुक्त वडा घोषणा गर्न बाँकी वडाका गाउँहरुमा छाउगोठ र छाउपडीहरुको रहन सहन बारे स्थलगत रुपमा अनुगमन गर्न थालिएको छ । सोही अनुरुप सोमवार नगर उपप्रमुख थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले वडा नम्वर ७ मा रहेका सबै बस्तीहरुमा स्थलगत अनुगमन गरेको छ ।

७ नम्वर वडामा गरिएको अनुगमनका क्रममा महिनावारी भएका बेला महिलाहरुका लागि घरभन्दा टाढा बनाइएका केही छाउगोठहरु भेटिएको नगर उपप्रमुख थापाले बताइन् । छाउगोठ भेटिएका ठाउँमा उनीहरुलाई पहिलो चरणमा अनुगमन गरेर आफैं छाउगोठ हटाउनका लागि वडा कार्यालयले चिठी मार्फत आग्रह गर्ने र नमाने नगरपालिकाले नै भत्कादीने योजना रहेको जनाएको छ ।

बडीमालिकामा मात्रै नभई जिल्लाका अन्य पालिकाका विभिन्न बस्तीहरुमा अहिले पनि घरभन्दा केही टाढा महिलाहरु महिनावारी भएको समयमा बस्नका लागि मात्रै छाउगोठ बनाइएका छन् । पहिलेको भन्दा अहिले केही सुधार देखिए पनि अझै महिनावारी भएका बेला घरभित्र परिवारसँगै बस्दा देउता रिसाउँने परम्परागत सोचका कारण महिलाहरु पनि छाउगोठमा बस्न बाध्य छन् । यसले गर्दा समाजमा विद्यमान छाउपडी प्रथाप्रतिको परम्परागत विश्वास नहट्दासम्म छाउगोठ भत्काएर यो प्रथाको अन्त्य नहुने कतिपय सामाजिक अगुवाहरु बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार