बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिकामा डेढ करोड बढी लगानी भएको डम्पीङ साइड अलपत्र बनेको छ । तर नगरपालिकाले कोल्टी बजार नजिकै डम्पीङ साइड बनाएर प्रयोगमा ल्याइरहेको छ । नगर प्रमुख पदम गिरी हुँदा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडकाबाडाको गाँउमाथि डम्पीङ बनाएको थियो । त्यो प्रयोगमा नै नआएर अलपत्र छ ।
दोस्रो कार्यकालमा निर्वाचित जनक कुमार बोहरा निर्वाचितपछि बुढीनन्दा नगरपालिका १ मा कोल्टी बजार नजिकै डम्पीङ बनाएर फोहोर फाल्ने बनाइएको छ । नगरपालिकाले भने यो अस्थायी रुपमा बनाएको बताएको छ । अहिले फोहोर फाल्ने बनाइएको डम्पीङ साइड बसपार्क बनाइएको ठाउँ, ३३ केभिए निर्माणको सबस्टेसन तथा बजार नजिकै रहेको छ । अर्को यो ठाउँ हवाइ रुट नजिकै क्षेत्रमा पर्ने गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाहका अनुसार अहिले बनाइएको डम्पीङ साइड अस्थायी रुपमा सञ्चालनमा ल्याएको बताएका छन् । फोहोर जम्मा भए डोजर मार्फत पुर्ने बताए । यो अहिले अस्थायी हो, वडा नम्बर १ पिपलडाँली गाउँको माथि सल्लेरीमा डम्पीङ साइड बनाउन लागेको बताए । अहिले सडक बाटो बनाउनको लागि अध्यन भइरहेको छ, चाडै सडक बनाएर सल्लेरीमा डम्पीङ साइड बनाउन नगरपालिकाको योजना रहेको शाहले बताए । हामीले छनोट गरेको ठाउँ उपयुक्त रहेको उनको तर्क छ ।
आर्थिक बर्ष ०७५।०७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडका बाडाको गाँउ माथि बनाएको डम्पीङ साइड प्रयोगमा नआएर अलपत्र बनेको छ । पालिकाले १ करोड ८९ लाख ५५ हजार ७ सय ५० रुपैया लगानी गरेको उक्त डम्पीङ साइड प्रयोगमा नआएर अलपत्र बनेको स्थानियले बताएका छन् । एकातिर करोडौ लगानि भएको डम्पीङ साइड अलपत्र छ, अर्कोतिर पालिकाले नगरपालिकाको वडा नम्बर १ मा फेरी बनाउन लागेको छ ।
तत्काल डम्पीङ साइड निर्माण हुनै लाग्दा समय देखि नै स्थानियले विवाद गरेका थिए । पालिकाले डम्पीङ साइड निर्माणका लागि गरेको ठेक्का पनि मिलोमतो भएको आरोप रहेको थियो । ०.५ प्रतिशत घटेर हन्डीक इन्जिनियरिङ्ग कन्सल्टेन्सी एण्ड कन्सट्रन्सन प्रालिले पाएको थियो । बोलपत्र खरिद ५१ वटा भएपनि बोलपत्र दाखिलामा ४ वटा भएका थिए । उक्त कन्सल्टेन्सीले १ करोड ८८ लाख ६१ हजार ७ सय ३१ मा काम पाएको थियो ।
यो डम्पीङ साइड निर्माणका बेला नगर प्रमुख काँग्रेसबाट निर्वाचित पदम कुमार गिरी रहेका थिए । अहिले एमालेबाट निर्वाचित जनक कुमार बोहरा रहेका छन् । नगरप्रमुख बोहराले भने हामीले त्यो बेला नै डम्पीङ साइड बनाउने ठाउँ उपयुक्त नभएको भनेर बिरोध गरेका थियौ । अहिले आफु नगरप्रमुख भइसकेपछि त्यो ठाउँमा उपयुक्त नहुने भन्दै वडा नम्बर १ मा डम्पीङ साइड बनाउन लागेको बताए । एकातिर गाउँ माथि, अर्को त्यो धार्मिक क्षेत्र रहेको बोहराले बताए ।
करोडौ खर्च गरेर बनाएको डम्पीङ साइड अलपत्र बनाएर राज्यकाे रकम चरम दुरुपयोग भएको स्थानियले बताएका छन् । अहिले दुईवटा खाल्डा मात्र रहेका छन् । त्यो बेला कुनै योजनाबिना नै गाँउ माथि डम्पीङ साइड निमार्ण गरेको बताए । नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडका बाडाको गाँउ माथि बनाएको छ । तल गाँउमा ७५ परिवार रहेका छन्, माथि डम्पीङ साइड निर्माण भएको वडा अध्यक्ष अशोक कुमार दानिले बताएका छन् ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ को मा फोहोर मैला व्यवस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वातावरणमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने ऐनमा उल्लेख रहेको छ ।