
टेकबहादुर बुढा—बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ कोल्टीमा निर्माण हुन लागेको सबस्टेशनको काम अलपत्र अवस्थामा रहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभिए लाइनको सबस्टेशन निर्माण सम्पन्न मिति सकिन लाग्दा पनि काम भने अस्तव्यस्त अवस्थामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरणको नेपाल वितरण प्रणाली स्तरोन्नती तथा वितरण आयोजनाको कोल्टी सव प्रोजेक्ट अन्तर्गत कोल्टीमा सबस्टेशन निर्माण हुन लागेको हो । परियोजनाको काम गर्ने सुरुवात मिति ०१ मार्च २०२३ बाट शुरु हुने सम्झौता रहेको छ । सम्झौता हँुदा ७ सय ३० दिन अर्थात दुई बर्षमा काम सक्नुपर्ने छ । आयोजना र निर्माण कम्पनीको लापरवाहीले काम अस्तव्यस्त रहेको स्थानियबासीले बताएका छन् ।
नेपाल वितरण प्रणाली स्तरोन्नती तथा वितरण आयोजनाको नामाकरण गरिएको आयोजनालाई यूरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोग गरेको छ । उक्त ऋण सहयोगको रकमले बाजुरा र बझाङ्ग जिल्लाभरी विद्युतीकरण गर्नका लागि अरबौ लगानीमा विभिन्न काम भइरहेको छ ।
सबस्टेशन कोल्टीकोे निर्माण भारतिय कम्पनी रहेको छ । निर्माण कम्पनी अब्सोलुट प्रोजेक्टस इन्डिया लिमिटेड रहेको छ । परार्मशदाता कम्पनीका रुपमा पावोर ग्रिड कर्पोरिशन अफ इन्डिया लिमिटेड—जेट कन्सल्ट प्राइभेट लिमिटेड रहेको छ ।
१६ करोडमा लगानि हुन लागेको उक्त सबस्टेशन निर्माणको काम ४० प्रतिशत जति सम्पन्न भएको उक्त परियोजना प्रमुख सन्तोष पन्तले बताएका छन् । भारतबाट सामान आउन ढिलाइ र भन्सारमा समस्या हुँदा समयमै काम सम्पन्न हुन नसकेको पन्तले बडिमालिका खबरसँग बताएका छन् । अब भने चाडै काम सम्पन्न गर्ने उनले वताए । हामी जतिसक्दो चाडो काम सम्पन्न गर्ने योजनामा रहेको उनले वताए ।
काम सम्पन्न गर्ने मिति एक महिना बाँकी रहँदासम्म काम कहिले सम्पन्न हुने कुनै अत्तोपत्तो नभएको स्थानिय सामाजिक अगुवा अनिल बहादुर शाहीले बताएका छन् । बाजुराका पुर्वीउत्तर क्षेत्रका ४ पालिका, मुगु र हुम्लाका केही पालिकालाई लक्षित गरेर सबस्टेशन निर्माण हुन लागेको छ ।
सबस्टेशन निर्माण हुने बित्तिकै मार्तडीबाट कोल्टीसम्म विद्युत लाइन विस्तार गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । बाजुराको दोस्रो ठुलो बजार कोल्टी लगायत चारवटा पालिकामा विद्युत नहुँदा स्थानियले समस्या भोग्दै आएका छन् ।
कोल्टी सबस्टेशन निर्माण भएर विद्युत प्रवाह भएमा त्यस क्षेत्रका बासिन्दा अध्यारोबाट मुक्त हुने थिए । तर काम नै लथालिङ्ग रहेको स्थानिय रोशन बहादुर शाहीले बताएका छन् । उक्त परियोजनाबारे बाजुराबासी तथा स्थानिय तह प्रशासन समेत बेखबर रहेका छन् । कोल्टीमा निर्माण हुन लागेको सबस्टेशन मात्र नभइ बाजुरामा निर्माण भइरहेका अन्य सबस्टेशन देखि विद्युत लाइन विस्तार समेत अस्तव्यस्त रहेको छ । विद्युतका पोल तार तथा अन्य काम लथालिङ्ग अवस्थामा रहेका छन् ।


