बाजुरा– शैक्षिक गुणस्तर सुधारका लागि माध्यामिक, निम्न माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मावि, निमावि र आधारभूत विद्यालयका प्रधानाध्यापकसंग अभिमुखीकरणको आयोजना गरिएको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मिन बहादुर लामिछाने बताएका छन् ।
पछिल्लो समय विद्यार्थी मोबाईलमा भुल्ने, भनेको नमान्ने, नपढ्ने घरको काममा सहयोग नगर्ने सामान जतन नगर्ने, सामाजिक सञ्जालमा देखिएको विकृति र विसंगति लगायतमा देखिएका समस्या समाधानका विषयमा केन्द्रीत रहेको उनले बताएका छन् । जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरको अवस्था सुधारका निम्ति सामाजिक विकास कार्यालयले विभिन्न समयमा यस्ता गतिविधि सञ्चालन गरिरहेको उनले बताएका छन् ।
जिल्लाको समग्र शैक्षिक गुणस्तरको अवस्था सुधार हुन नसकेको कतिपय जानकारले टिप्पणी गर्ने गरेको बेला सामाजिक विकास कार्यालय यसमा गम्भीर भएर अवस्था सुधारमा लागेको छ । विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने शिक्षकहरुले बताएका छन । समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यवहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिएको कार्यक्रमका सहभागी शिक्षकहरुले बताएका छन् ।
सामाजिक सञ्जालको अव्यवस्थित प्रयोगका कारण समाजमा विभिन्न खालका घटनाहरू घट्दै गएकाले त्यस्ता विकृतिजन्य गतिविधिबाट छोराछोरीलाई टाढा बनाएर असल शिक्षा प्रदान गर्नमा लाग्ने सुझाव दिईएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्लाभरका करिब ३५ बढी प्रअहरुको सहभागीता रहेकाे थियो ।