बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले पनि शहीद दिवस मनाएको छ । बुधवार महासंघ जिल्ला शाखाको कार्यालयमा एक औपचारिक कार्यक्रमकाबिच प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा सहीद दिवस मनाएको हो ।
शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितले शहीदको बलिदानीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको आभाष गर्न पाएको बताएका छन् । २०६२–६३ को जनआन्दोलनका बेला सञ्चार माध्यामले सहज रुपमा जिल्लामा कलम चलाउन नपाएको स्मरण गर्दै अन्याय विरुद्ध डटेर कलम चलाउनुपर्नेमा पण्डितले जोड दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिवालय सदस्य लक्ष्मीराज पाध्यायले शहीद प्रति श्रद्धा सुमन व्यक्त गर्दै पत्रकारिता सोचे जस्तो जिल्लामा नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित रहेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिवालय सदस्य लक्ष्मीराज पाध्याय, प्रेस सेन्टर प्रदेश सचिव सोधा नेपाली, प्रेस युनियन जिल्ला उपाध्यक्ष जय रावत सहित अतिथि रहेका थिए । महासंघ सचिव प्रेम रौलेले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सहसचिव जनक बोहराले राखेका थिए । कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।