बाजुरा— बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ । विभिन्न गाउँबस्तीमा महिनावारी भएका बेला बस्न घरभन्दा टाढा निर्माण गरिएका छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो । सोमवारदेखि जिल्लाका सबै स्थानीय तहका गाउँबस्तीहरुमा रहेका छाउगोठ भत्काउने अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरीले सोमवार जिल्लाको बुढीगंगा नगरपालिकामा २९ वटा छाउगोठ भेटिएको बताएका छन् । उनका अनुसार ती छाउगोठलाई एक हप्ताभित्र भत्काउनका लागि समय दिएको र नभत्काए प्रहरीको टोली गएर भत्काइने भएको छ ।
त्यस्तै डिएसपी गिरीले छाउगोठ भत्काउने अभियान जिल्लाभर सुरु गरिएको भन्दै अनुगमनका क्रममा भेटिएका छाउगोठ प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा भत्काइने बताए । जिल्लामा यसअघि पनि विभिन्न समयमा छाउगोठ भत्काउने अभियान सुरु गरिदैँ आएको थियो ।