बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा लाग्ने जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञको तयारी तीव्र पारिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा यहीँ माघ १७ गतेदेखि २४ गतेसम्म लाग्ने जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञको तयारी करिब अन्तिम चरणमा पुगेको हो ।
महायज्ञ प्रचारप्रसार समितिका राजेश सुनारका अनुसार स्टेज निर्माण, कलस काट्ने लगायत महायज्ञको तयारी करिब अन्तिम चरणमा पुगेको छ । उनका अनुसार उक्त धार्मिक महायज्ञको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद पदम बहादुर शाहीले गर्ने भएका छन् ।
जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ २०८१ मूल समारोह समितिका अनुसार खापरदेवस्थली माविको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ लाग्दैछ । विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको समितिले जानकारी दिएको छ ।
उक्त महायज्ञमा प्रवचन भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले गर्ने भएका छन् । त्यस्तै महायज्ञ मूल समारोह समितिले विद्यालय तथा मन्दिरको सर्वाङ्गीण विकासका लागि विद्यालयले गरेको प्रयासलाई सफल पार्न सबैले सहयोग गरिदिन आग्रह गरेको छ ।