बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराले तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्दै

एमाले बाजुराले तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्दै

जिल्लाका ७ पालिका र ३५ वडामा सर्वसम्मत नेतृत्व चयन

  • मङ्लबार, माघ १५, २०८१
एमाले बाजुराले तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्दै

बाजुरा—नेकपा एमाले जिल्ला कमिटी बाजुराले तीन महिने वडा (जरा) अभियान सञ्चालन गर्ने भएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटीको माघ १३ गते शनिवार बसेको चौथो पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएका हुन् ।

एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इञ्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको पार्टीको चौथो पूर्ण बैठकले तीन महिने वडा अभियान गर्न योजना तयार पारेको जनाएको छ ।

प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बैठकका निर्णयहरु जिल्ला कमिटी सचिव काशी विकले सार्वजनिक गरेका छन् । बैठकका निर्णयहरु सार्वजनिक गर्दै सचिव विकले तीन महिना अवधिभर वडा तहमा पार्टीको सदस्यताका लागि अनलाइन कार्यको सुरुवातबारे जानकारी दिने, टोल कमिटी गठन गरिने बताए । त्यस्तै टोलटोलमा एमाले अभियान, जनताका गुनासा, समस्या सुन्ने र समाधान गर्न छलफल गर्ने लगायतका योजना सहित तीन महिने वडा (जरा) अभियान सञ्चालन हुने बताए ।

त्यस्तै पार्टीले हालसम्म हिमाली र बुढीनन्दा बाहेक सबै पालिका र ३५ वटा वडाहरुको अधिवेशन सम्पन्न भएर सर्वसम्मत कमिटी चयन भएको बताएको छ । बैठकले २०८१ भदौ २३ देखि हालसम्मको आम्दानी–खर्च र वित्त तथा कोष व्यवस्थापन विभागले अध्यावधिक गरी पेश गरेको बजेट अनुमोदन गरेको छ ।

त्यस्तै एमालेको मिसन ०८४ लाई स्थानीयकरण गर्दै “मिसन ०८४ भिजन २१०६, पार्टी स्थापनाका १ सय बर्ष दीर्घकालिन विकास अवधारणा” तयार गर्न प्राविधिक समूह बनाउने निर्णय गरेको जनाएको छ । विगत ३ बैठकका निर्णय कार्यान्वयनको समिक्षा गर्न तथा जिम्मेवारी तोकिएका नेताहरुलाई प्रभावकारी कार्यसम्पादन गर्न बैठकले निर्देशन दिएको छ ।

पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बाँकी पालिका र वडा अधिवेशन मंसिरभित्रै सम्पन्न गर्ने भने पनि पार्टीका अन्य कार्यव्यस्तताले नसकिएको भन्दै बाँकी पालिका अधिवेशन माघभित्र र वडामा फागुनभित्र सम्पन्न गरी सक्ने बताएका छन् । पार्टी अध्यक्ष ओलीले चौथो पूर्ण बैठकले एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका पालिका, वडाहरुको कार्यसम्पादनको आमभेला गरेर सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको बताए । त्यस्तै पछिल्लो समय पार्टीका नेता, पार्टीको नीति र कामलाई लिएर नेता तथा कार्यकर्ताबाट सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणी गर्ने र आपसी द्धन्द्ध बढाउने खालका क्रियाकलापहरु देखिएको भन्दै यस बिषयको बैठकमा विस्तृत छलफल भएको अध्यक्ष ओलीले बताए ।

जिल्ला कमिटीको बैठकले आफ्‌ना सहमति, असहमतिका मत पार्टीका संरचनात्मक प्रक्रियाबाट राख्न पाइने तर सार्वजनिक रुपमा नकारात्मक प्रस्तुति गरी पार्टीका नेताहरुलाई विवादमा तानेर आफ्‌नो औकाद नदेखाउन पनि सबै पार्टी सदस्यहरुलाई निर्देशन दिएको जनाएको छ ।

प्रेस चौतारी नेपाल, बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली थिए भने अतिथिमा पार्टी सचिव काशी विक, नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौले लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार