बाजुरा—बाजुराको पूवीउत्तरी भेगको जगन्नाथ गाउँपालिका वडा नम्बर १ स्थित पिलुचौर बजारमा थ्रीफेज विद्युत लाइन जडान गरिएको छ । कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा (रीरास), नर्वे सरकार र युएन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजनाबाट पिलुचौर बजारमा थ्रीफेज विद्युत लाइन विस्तार गरिएको हो ।
त्यस्तै सोही आयोजनामार्फत गाउँपालिकाको वडा नम्बर २ हुनी देखि काँडाकोटमा रहेको नेपाल टेलिकमको टावरसम्म हाईटेन्सन लाइन (विद्युत जडान) मर्मत तथा विस्तार भएको छ । उक्त टावरमा विद्युत जडानसँगै ५० के.भी को ट्रान्सर्फमर राखिएको छ ।
रीरास आयोजना, केन्द्रिय नवीकरणीय उर्जा कोष, ग्रामीण जीवीकोपार्जनका लागि नवीकरणीय ऊर्जाको प्राविधिक सहयोगमा टावरमा विद्युत र थ्रीफेज लाइन विस्तार गरिएको छ । यसअघि पिलुचौरमा सिंगल फेजको विद्युत लाइन सञ्चालनमा रहेको थियो ।
त्यस्तै ती संस्थाहरुको आर्थिक सहयोगमा ३९ लाख ९६ हजार ९ सय ९५ रुपैयाँको लागतमा पिलुचौर बजारमा थ्रिफेज लाईन विस्तार र हुनी हुदैँ काँडाकोटमा रहेको टेलिकमको टावरसम्म बड्डीगाड जलविद्युतबाट हाईटेन्सन विद्युत लाइन मर्मत तथा विस्तार गरेर पुस १५ गतेबाटै सञ्चालनमा ल्याइएको जनाएको छ ।
टावरसम्म विद्युत जडान भएसँगै त्याँहाका नागरिकहरुले घाम लागेको समयमा मात्रै फोन सर्म्पक हुने र अन्य दिनमा नेटर्वक खोज्न अग्ला डाँडाकाँडा धाउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयहरुले बताएका छन् ।
नेपाल टेलिकम, बड्डीगाड जलविद्युत सहकारी संस्था लिमिटेड र रीरास आयोजनाका प्रतिनिधिहरुको उपस्थितिमा विद्युत जडान सम्पन्न भएपछि सो क्षेत्रमा फोन सेवामा सुधार र पिलुचौरमा नियमित विद्युत आपुर्ति भएकोले बन्द भएका उद्योग व्यवसाय समेत सुचारु भएका रीरासका हरी बुढाथोकीले बताएका छन् । त्यसै गरी टावरमा विद्युत पुगेसँगै जगन्नाथ गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५, स्वामीकार्तिक खापर १, २, ३ र ४, बुढीनन्दा १ को भारतीकोसाडी र हिमाली ७ को बाँधु, पाडी लगायतका आसपासका क्षेत्रमा नियमित फोरजी सेवा सञ्चालनमा आएको बुढाथोकीले बताए । उनका अनुसार सो टावरमा पहिले पनि विद्युत जडान गर्ने प्रयास भएपनि बिचमा मर्मत अभावमा अलपत्र अवस्थामा रहेपछि त्याँहाका क्षेत्रका नागरिकहरुलाई नेटर्वकको समस्या रहेको थियो ।
टावरमा विद्युत जडान गरेर नियमित फोरजी सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका करिव २० हजार नागरिक त्यसबाट प्रत्यक्ष लाभान्वित भएका बड्डीगाड लघु जलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्द बहादुर शाह बताए । उनका अनुसार बड्डीगाड लघु जलविद्युत अहिले १०० किलो वाट विद्युत प्रदान गर्दै आएको छ ।
कम क्षमताको विद्युत हुँदा पिलुचौर बजारमा सञ्चालनमा रहेका विभिन्न उद्योग सञ्चालन गर्न व्यवसायीहरुले सास्ती भोग्दै आएकोमा आयोजनाले थ्रीफेज लाइन विस्तार गरेसँगै सहज भएका उद्योग व्यवसायी बर्तराज उपाध्याले बताए । विद्युतको भोल्टेज कमीको कारण पिलुचौरमा कतिपय बन्द भइसकेका उद्योगहरु थ्रीफेज लाइन जडान भएसँगै पुनः सञ्चालनमा आएको व्यवसायी उपाध्याको भनाई छ ।
विद्युत र फोन नेटवर्कबाट सबैं समस्या खेपिरहेका नागरिकहरुको सुविधाका लागि दुर्गममा आएर सो समस्या समाधान गरेको भन्दै जगन्नाथ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गणेशराज गिरीले सहयोगी सबै संस्थाहरुलाई धन्यवाद दिएका छन् । वडा अध्यक्ष गिरीले रीरासको सहयोगको र वडा कार्यालयको पनि लामो समय देखिको पहलपछि अहिले नागरिकलाई विद्युत र सञ्चारको सुविधा पुगेको बताए ।
बड्डीगाड लघु जलविद्युतको पावर हाउसको जेनेरेटरबाट पिलुचौर बजारमा टाढा दुरीमा विद्युत सप्लाई भएकोले भोल्टेज ड्रप हुने समस्या रहेकोमा थ्रीफेज लाइन जडानसँगै सो समस्या समेत समाधान भएको छ ।
अहिले पिलुचौरमा थ्रीफेज लाइन र टावरमा विद्युत व्यवस्थापनसंगै विद्युत र फोरजी सेवा नियमित हुन थालेपछि त्याँहाका स्थानीयहरु खुसी भएका छन् ।