
बाजुरा— बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे मालिका माध्यमिक विद्यालयले रैथाने खाना महोत्सव सञ्चालन गरेकाे छ । साेमवार रैथाने बालीको प्रर्वद्धन गर्न बडीमालिका नगरपालिका कृषि विकास शाखाको सहयोगमा मालिका माविले रैथाने खाना महोत्सव सञ्चालन गरेकाे हो ।
रैथाने खाना महोत्सवमा विद्यार्थीहरुले रैथाने बाली कोदो, मकै, जौ, कागुनो, भटमास, केराउ, फापर लगायतका बालीहरुबाट उत्पादन गरेका विभिन्न खानाका परिकारहरु प्रर्दशन गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईसंगै व्यवसायीक सिप प्रदान गर्ने उद्देश्यका साथ रैथाने खाना महोत्सव गरिएको विद्यालयले जनाएकाे छ ।
मालिका माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले ८ वटा स्टल निर्माण गरेर स्थानीय रैथाने बालीका १४ वटा परिकारका स्थानीय खानाका परिकारहरु उत्पादन गरेर महोत्सव सञ्चालन गरेका छन् । महोत्सवले स्थानीय रैथाने खानाको बजारीकरण र रैथाने खानाको राष्ट्रिय स्तरसम्म प्रचार प्रसार तथा प्रवद्र्धनका लागि सहयोग पुग्ने बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
महोत्सव स्थलमा पुगेका नगरप्रमुख खड्का नेतृत्वको टोलीले विद्यार्थीहरुले रैथाने बालीबाट उत्पादन गरेका जेरी, कोदोको मम, पकौडा, खिर, दालमोठ लगायतका विभिन्न खानाका परिकारहरु खानुका साथै विद्यार्थीहरुको सीप विकासको लागि हौसला समेत प्रदान गरेका थिए ।
मालिका माविको खेलमैदानमा सञ्चालन गरिएको रैथाने खाना महोत्सवमा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी, ६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, मालिका माविका विव्यस अध्यक्ष काँशी विक, उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया, मालिका माविका निमित्त प्रधानाध्यापक धीरबहादुर दानी, बडीमालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विक लगायत सहभागी थिए ।
