
काठमाडौं —सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले एमाले र एमाले नेतृत्वका विरुद्धको घेराबन्दी गरेर बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल भएको दाबी गरेका छन्। नेपाल जस्तो संवेदनशील भू-राजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव नहुने उनको टिप्पणी छ।
उनले नेपालका साना राजनीतिक दलहरू आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर सामाजिक अराजकताको बाहक बनिरहेको बताए। ‘नेपाल जस्तो संवेदनशील भू-राजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव हुँदैन। त्यसमाथि विकास र समृद्धिका लागि राज्य बलियो हुनु अपरिहार्य छ। राज्यलाई बलियो बनाउनका लागि नीतिमा आधारित राजनीतिक स्थायित्व आवश्यक पर्दछ। त्यसका लागि बलिया राजनीतिक दलहरुको आवश्यकता पर्दछ। यस उद्देश्य प्राप्तिका लागि नेकपा (एमाले) हरेक हिसाबले योग्य र सक्षम छ।’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘अहिले नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो। नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा(एमाले)को नेतृत्व माथि हमला गरिरहेका छन्। यो प्रवृति हरेक हिसाबले जनता र राष्ट्रका लागि घातक छ। समाजवादको यात्राका लागि त झनै बाधक छ। यतिबेला नेकपा(एमाले) विरुद्ध संचालित साइबर हमला भइरहेको छ। त्यसको उद्देश्य नेकपा(एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो।’
आगामी चुनावमा निर्वाचनपूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष गरेर एमाले र नेपाली कांग्रेसले आम निर्वाचनलाई एजेण्डा केन्द्रित गर्ने संकल्प गरेपछि साना दललाई छटपटि भएको उनको दाबी छ। उनले अराजकता लोकतान्त्रिक विकासको चुनौती र राजनीतिक स्थायित्वका लागि बाधक, विकास र समृद्धिको यात्राको तगारो रहेको विश्लेषण गरेका छन्। पोखरेलले समाजलाई आशावादी, जागृत र अनुशासित बनाउने कामको नेतृत्व राज्य र राजनीतिक दलहरूले नै गर्नुपर्ने तर्क गरेका छन्।
