बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको पहिलो बैठक जिल्लाको पर्यटकीय गन्तव्य पोरखेगढीमा बसेको छ । पत्रकार महासंघ जिल्ला शाखाको नयाँ कार्यसमितिले पहिलो बैठक पोरखेगढीमा गर्ने भन्ने निर्णय बमोजिम सो बैठक शनिवार सम्पन्न भएको हो ।
मंसिर २८ गते भएको निर्वाचनबाट निर्वाचित भएर पदभार ग्रहण गरेको एक महिना पछाडि शुक्रवार पद हस्तान्तरण गर्दै शनिवार पहिलो बैठक सम्पन्न गरेको जनाएको छ ।
बाजुराको पर्यटकीय गन्तव्यका रुपमा रहेको पोरखेगढीको पहिचान, पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ महासंघले सम्पूर्ण पत्रकारहरुको सहभागीतामा पहिलो बैठक पोरखेगढीमा बसेको सचिव प्रेम बहादुर रौलेले बताएका छन् ।
‘गन्तव्यको पहिचान र पर्यटन प्रवद्र्धनका लागि’ भन्ने नारा दिँदै जिल्लाको पर्यटकीय गन्तव्य पोरखेगढीमा सम्पन्न पत्रकार महासंघ जिल्ला शाखाले पहिलो बैठकबाट विभिन्न निर्णयहरु समेत गरेको छ ।
पोरखेगढीमा बसेको महासंघको पहिलो बैठकले ७ बुदेँ पोरखे घोषणा पत्र जारी, महासंघको निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति सहित सबेलाई धन्यवाद, जिल्लाबाट सुदूरपश्चिम प्रदेश समितिमा निर्वाचित सदस्यलाई हार्दिक बधाई तथा शुभकामना दिने निर्णय गरेको अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । त्यस्तै महासंघका बैठक जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा गर्ने कार्यको निरन्तरता, पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाले प्रदान गर्दै आएको बर्ष पत्रकारीता पुरस्कार विगतका बर्षमा रोकिएकोमा अवदेखि पुनः निरन्तरता दिने लगायतका निर्णय गरिएको अध्यक्ष सिंहले बताए ।
महासंघको पहिलो बैठकमा बोल्दै पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले पोरखेगढीको पहिचान र पर्यटन प्रवद्र्धनका लागि पहिलो बैठक गरेको भन्दै छुट्टै खालको इतिहास रच्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव धनराज साउँदले महासंघको पहिलो बैठकले जिल्लाका पर्यटकीय स्थलको पहिचान र सम्भावनालाई उजागर गर्ने भन्दै महासंघले आगामी दिनमा खोजमूलक पत्रकारीताको विकासमा कलम चलाउनु पर्नेमा जोड दिए ।
त्यस्तै बडीमालिका नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले आर्थिक समृद्धी ल्याउनका लागि पर्यटन पनि एक पाटो रहेको भन्दै यस क्षेत्रको प्रवद्र्धन गर्ने महत्वपूर्ण पत्रकारीता क्षेत्रबाट नै सम्भव रहेको बताएका छन् । त्यस्तै आफू पनि पत्रकारीता क्षेत्रबाट आएको भन्दै महासंघ तथा पत्रकारीताको क्षेत्रमा आफू र नगरपालिका सधैं सहयोगका लागि तत्पर रहेको बताए ।
त्यस्तै बैठकमा सहभागी छिमेकी जिल्ला अछाम शाखाका अध्यक्ष रमेश रावत, सचिव भानु ढकालसहित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव धनराज साउँद र सदस्य दिनेश केसीलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको पहिलो बैठकको प्रमुख अतिथि बडीमालिका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याय रहेका थिए । त्यस्तै बैठकमा महासंघ जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव धनराज साउँद, प्रदेश समिति सदस्य दिनेश केसी, पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत, सचिव भानु ढकाल, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष संगीता तिमिल्सेनाले स्वागत मन्तव्य राखेको बैठकको सञ्चालन सचिव प्रेम बहादुर रौलले गरेका थिए ।