बाजुरा—बाजुराको दर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ को विकट पाडीगाउँमा टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । गत वैशाखदेखि टावर निर्माण कार्य सुरु गरिएको पाडीगाउँमा अहिले नमस्तेको फोरजी सेवा सञ्चालनमा आएको हो ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुरा र हिमाली गाउँपालिका अध्यक्ष सहितको टोली पाडीगाउँमै पुगेर सोमवार फोरजी सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको विकट पाडीगाउँमा यसअघि सामान्य फोन सर्म्पक बाहेक अन्य सुविधा थिएन् ।
पाडीगाउँमा पहिल्यै देखि सञ्चालनमा रहेको स्काईको टावर भएपनि बिचमा बिग्रेपछि लामो समयदेखि सामान्य फोन गर्न समेत डाँडाकाँडा धाउन बाध्य स्थानीयबासी अहिले चारैतिर फोरजी चल्न थालेपछि खुसी भएका छन् । पाडीगाउँमा फोरजी सेवा सञ्चालनमा आएसँगै करिब एक सय ५० बढी परिवार त्यसबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
जिल्लाका अन्य पालिकाभन्दा सबैभन्दा दुर्गम मानिएको हिमालीमा विकट भौगोलिक अवस्थाका कारण फोन नेटवर्क र इन्टरनेटको ठूलो समस्या छ ।
पालिकाका गाउँहरुमा लामो समयदेखिको पहल र प्रयासपछि अहिले विस्तारै नेटवर्कको सुविधा पुग्न लागेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् । अहिले वडा नम्बर ४,६ र ७ मा टेलिकमको फोरजी सेवा सुचारु गरिए पनि अन्य वडाका स्थानीयहरु भने अझै सुविधायुक्त नेटवर्कको पहुँचमा नभएको अध्यक्ष मल्लले बडीमालिका खबरलाई बताए । अध्यक्ष मल्लका अनुसार अब लगत्तै पालिकाको कवाडी, बिच्छ्या, बाम र गुम्बा गाउँ सहित सबै ठाउँमा यस बर्षभित्रै फोरजी सेवा जडान गर्ने लक्ष्य राखिएको छ ।
हिमालीको भौगोलिक अवस्था अन्य पालिकाको भन्दा निकै फरक र कठिन छ । विकास निर्माणका काम गर्न सहज छैन् । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन् । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चार लगायतका सुविधा विस्तारमा लागि परेको गाउँपालिकाले जनाएको छ ।