• होमपेज
  • समाज
  • बाजुरामा पनि मनाइयो १० औं राष्ट्रिय योग दिवस (यस्ताे छ याेगकाे महत्व)

बाजुरामा पनि मनाइयो १० औं राष्ट्रिय योग दिवस (यस्ताे छ याेगकाे महत्व)

  • मङ्लबार, माघ १, २०८१
बाजुरामा पनि मनाइयो १० औं राष्ट्रिय योग दिवस (यस्ताे छ याेगकाे महत्व)

बाजुरा— १० औं राष्ट्रिय योग दिवस बाजुरामा पनि मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा मंगलवार सदरमुकाम मार्तडीमा राष्ट्रिय योग दिवस मनाएको हो ।

“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ देशभर झै जिल्लामा पनि योग अभ्यास गर्दै दिवस मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रंग बहादुर कार्कीले योग हरेक व्यक्तिको दैनिक जीवनमा अति महत्वपूर्ण रहेको भन्दै कार्यालयको आयोजनामा १० औं राष्ट्रिय योग दिवस मनाएको बताए । योग व्यक्तिको जीवन सुखमय र स्वस्थ बनाउनका लागि उपयोगी रहेकाले आजबाट सदरमुकाम मार्तडीमा निरन्तर योग अभ्यास कार्यक्रमको समेत सुरुवात गरिएको बताएका छन् । उनका अनुसार आयुर्वेद स्वास्थ्य कार्यालयले समय समयमा जिल्लामा विभिन्न स्थानमा योग अभ्यासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय योग दिवस कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख सहित कर्मचारी, जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यस्ता छन् योगका अनेक लाभ

आज दिन-दिनै अस्पताल बनिरहेका छन् । अत्याधुनिक चिकित्सा उपकरणको विकास भइरहेका छन् । स्वास्थ्यकर्मीहरु उत्पादन भइरहेका छन् । नयाँ नयाँ औषधिको खोज र विकास भइरहेका छन् । किनभने प्रतिदिन अस्पतालको चक्कर लगाउने बढ्दैछ । औषधिको खपत बढ्दैछ ।

रोग लागेपछि त्यसको निदान र उपचार जरुरी छ । त्यसैले रोग लागिसकेको अवस्थामा अस्पताल धाउनु, औषधि खानु नै छ । यद्यपि रोगमुक्त जीवन विताउनका लागि के गर्ने ?

यसका लागि हाम्रा पूर्खाहरुले विभिन्न खोज अध्ययन र अभ्यास गरेका छन् । निरोगी एवं रोगमुक्त भएर खुसी र आनन्दित जीवन विताउने उपायहरु पत्ता लगाएका छन् । र, आफ्ना सन्ततीलाई त्यसैको अनुसरण गर्न प्रेरित गर्दै आएका छन् ।

योग कुनै व्यक्ति विशेषको नभएर पुरै मानव जाति लागि महत्वपूर्ण छ । यसको नियमित अभ्यास गर्नाले महामारी तथा अन्य रोगको विरुद्ध लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोगीका लागि योग चिकित्सा पद्दति हो भने निरोगीका लागी जीवन पद्धति हो तसर्थ समग्रमा जीवन र जगतमा सुख र शान्तिसँग बाँच्ने कलाको नाम योग हो भन्दा अतुक्ति नहोला । आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो तसर्थ योगलाई जीवन पद्धति बनाउनुपर्छ ।योगको नियमित अभ्यास गर्न सकियो भने औषधी विना दीर्घ जीवन बाँच्न सकिन्छ ।

योग, ध्यान, प्राणायाम यसकै दृष्टान्त हुन् ।

सही तरिकाले जिउने विधि

योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।

यसैगरी योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । मन र चराचर जगत जोडिनु । आध्यात्मिक हिसाबले योगको अर्थ हो सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो र आफैमा परम उदेश्य पनि ।

योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ ।

गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्, ‘योगः कर्मसु कौशलम् ।’ अर्थात कर्ममा कुशलता नै योग हो । यद्यपि योगको अर्थ यो भन्दा वृहत र व्यापक छ । खासगरी पतञ्जलीले योगसूत्रमा यसको सटिक परिभाषा दिएका छन् । उनको परिभाषा यस्तो छ, ‘योगश्च्ित्तवृत्तिनिरोध ।’ अर्थात चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।

त्यसैगरी अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रालाई योग भनिएका छन् ।

योग भनेको शरीरलाई तन्काउनु, मर्काउनु, उफ्रिनु होइन । अर्थात शारीरिक व्यायाम मात्र पनि योग होइन । योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरु हुन्छन् । यी विधीहरुबाट हामीले मन, श्वास र शरीरको विभिन्न अंगबीच समान्जस्य बनाउन सक्छौं ।

योगको प्रकार

योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।

यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्दि्रय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।

नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।

आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।

प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।

पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो ।

धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्दि्रत गर्नु हो ।

ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो ।

समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।

चर्चामा

सम्बन्धित समाचार