• होमपेज
  • राजनीति
  • रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

  • आइतवार, पुस २८, २०८१
रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।

लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

‘बयान सकिँदा आज १५/२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्‌ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’

उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार