बाजुरा—बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वीउत्तरी भेगको कोल्टीसम्म शुक्रवारबाट बस सेवा सुरु भएको छ ।
सदरमुकाम मार्तडीबाट महाकाली र शिवपुरी यातायात प्रा.लिका तीनवटा बस सहज रुपमा कोल्टी पुगेका छन् । शनिवार पनि मार्तडीबाट एक बस र कोल्टीबाट पवनदुत यातायात प्रा.लिको एक बस सञ्चालन भएका छन् । मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरेर शुक्रवार महाकाली यातायात र शिवपुरीका बस सञ्चालन गरिएका थिए ।
मार्तडी–कोल्टी सडकखण्ड सिलान्यासको २५ वर्षपछि स्तरोन्नति गरिएसँगै उक्त सडकखण्डमा बस सेवा सुरु गरिएको छ । २०५६ सालमा मार्तडी देखि कोल्टीसम्मको करिव ४२ किलोमिटर सडक सिलान्यासको करिब २२ वर्षपछि स्तरोन्नति गरिएको थियो । सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ किलोमिटर पक्की सडक बनेको छ भने बाँकी कोल्टीसम्मको सडक स्तरोन्नतिको काम भईरहेको छ ।
लामो समयदेखि महंगो भाडा तिरेर मार्तडी कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरि रहेका पूवीउत्तरी भेगका नागरिकहरु बस सेवा सुचारु भएसँगै खुसी भएका छन् । मार्तडी कोल्टी बस सेवा सुचारु भएसँगै नागरिक स्तरबाट विभिन्न टिकाटिप्पणी समेत हुन थालेको छ । यसअघि पनि पटकपटक बस सेवा सञ्चालन गर्न भएका निर्णय होस् या पहल त्यसमा नागरिकले आश गरेअनुसार सफल हुन सकेको थिए । तर अहिले एकाएक बुढीनन्दा, बडीमालिका नगरपालिका, जिल्ला प्रशासन लगायत सरोकारवालाहरुको पहल कदमीपछि बस सेवा सञ्चालनमा आएको छ ।
बर्षौपछि बसमा यात्रा गर्ने सपना साकार भएर खुसी बनेका स्थानीयहरुले त्यसको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।बाजुराका उत्तरी भेगका पालिका सहित मुगु, हुम्ला र कालिकोटका नागरिकका लागि यातायातको सहज पहुँच पुर्याउन हिउँद र बर्षायाममा निरन्तरता हुनुपर्नेमा स्थानीय देखि सरोकारवालाहरुले जोड दिएका छन् ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हिउँदकाे समयमा मार्तडी कोल्टी बस सञ्चालन गर्न सहज भएपनि केही खोलामा पुल नहुँदा बर्षायाममा भने समस्या हुने बताए ।
त्यस्तै बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बस सेवा निरन्तर सुचारु गर्न अहिले पनि सडक मर्मतको काम धमाधम भइरहेको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।
मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।