काठमाडौं—संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशका नयाँ पुस्तालाई निराश बनाउनुभन्दा उनीहरूमा आत्मविश्वास जागृत गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल शैक्षिक परामर्श संघको १९औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालमै स्वरोजगार बन्ने र केही गरौँ भन्ने अठोट बोकेका दक्ष जनशक्तिहरूको प्रशंसा गरे। उनले स्वदेशमै रहन र योगदान दिन चाहने युवाका लागि सकारात्मक वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए।
पाण्डेले भने, ‘देशभित्रै रहँदै नयाँ पुस्तालाई सहजता प्रदान गर्ने अठोट राख्ने धेरै युवाहरू छन्। देश रित्तो भयो भन्ने नकारात्मक भाष्य फैलाएर उनीहरूलाई थप निराश बनाउनु हुँदैन। बाहिर जाने प्रवृत्ति दुनियाँभर छ। यो वैश्वीकरणको परिणाम हो। नेपालले यसबाट के फाइदा लिन सक्छ, त्यसमा ध्यान दिनुपर्छ।’
उनले विदेश जाने विद्यार्थीहरूको प्रवृत्तिलाई पूर्ण रूपमा नकारात्मक रुपमा हेर्नुभन्दा, त्यसका सकारात्मक र नकारात्मक पक्षहरूको समीक्षा गर्दै ठोस समाधान खोज्नुपर्नेमा पाण्डेले जोड दिए।
मन्त्री पाण्डेले पर्यटन र शिक्षा क्षेत्रलाई संयोजन गर्दै विद्यार्थीहरूलाई देश चिनाउने माध्यम बनाउन सकिने धारणा पनि राखे। उनले युवालाई स्वदेशमै रहन प्रेरित गर्ने नीति र कार्यक्रममार्फत देशको विकासमा योगदान दिन सकिने विश्वास व्यक्त गरे।