सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।
गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् ।
गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।