धनगढीः सुदूरपश्चिममा कार्यरत लेखा समूहका कर्मचारीले आफुहरुले अघि सारेका माग पूरा नभए कामकाज नै ठप्प पार्ने चेतावनी दिएका छन्। प्रदेश निजामती सेवा ऐन र नियमावली निर्माण गर्दा विभेद गरिएको भन्दै उनीहरुले कामकाज नै ठप्प पार्ने चेतावनी दिएका हुन्। लेखा समूहका कर्मचारीले वित्तृविकास रोकिने गरी कानुन निर्माण गरी विभेद गरिएको आरोप नै लगाएका छन्। माग पूरा नभए भोलि (विहिबार) देखि कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी छ।
प्रशासन सेवातर्फ नवौँ तहमा बढुवाका लागि सामान्य प्रशासन समूहका कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउने ऐन तथा नियमावलीको व्यवस्थाले आफूहरुको वित्तृविकासलाई रोकेको लेखा अधिकृत कृष्णबहादुर शाहीले बताए। उनले प्रशासन सेवाको बढुवामा आफूहरुले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन्।
‘प्रदेश सरकारले सामान्य प्रशासन समूहका कर्मचारीको वृत्तिविकास हुने तर सिनियर लेखा समूहका कर्मचारीको वृत्तिविकास रोक्ने ढङ्गको ऐन र नियमावली ल्याएकाले हामीले बिरोध गर्नुपर्ने अवस्था आएको हो’, उनले भने, ‘हामीले ऐन निर्माण हुँदादेखि आवाज उठाइरहेका छौँ; तर सुनुवाइ भएन, त्यसैले बाध्य भएर भोलिदेखि कामकाज नै ठप्प पार्ने निर्णयमा पुगेका हौँ।’
प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवा ऐन र नियमावलीमा लेखा समूहका कर्मचारीका लागि विभेदपूर्ण नियम ल्याइएको निजामती कर्मचारी युनियनका कैलाली जिल्ला अध्यक्ष खेमराज जोशीको भनाइ छ। उनले सरकारले आफ्ना कर्मचारीमाथि विभेद गर्न नहुने बताए। ‘प्रदेश ऐन र नियमावलीमा लेखा समूहका कर्मचारीको बढुवाको बाटो बन्द गरिएको छ। उहाँहरूको वृत्तिविकास रोकिनु हुन्न’, उनले भने, ‘मुख्यमन्त्री ज्यूले माग सम्बोधन गर्छु भन्नुभएको कुरा सुनिएको छ। ओएण्डएम गरेरै भए पनि समस्या समाधान गरिनुपर्छ।’
‘ऐन तथा नियमावलीमा विभेद गरिँदा लेखातर्फ प्रदेश सरकार मातहत कार्यरत करिब एक सय ९१ जना कर्मचारीको वित्तृविकास रोकिने भएको छ’, उनले भने, ‘बाध्य भएर पौष २५ गतेबाट सम्पूर्ण कामकाज ठप्प गर्ने भएका हौँ। सरकारले हाम्रो माग पूरा गर्छ भन्ने आशावादी छौँ। माग पूरा भए आन्दोलनका कार्यक्रम स्थगित गर्छौँ।’