बाजुरा– संघीय राजधानी काठमाडौंबाट बाजुरासम्मकाे सडक दूरी ९४४.६ किलोमिटर छ । काठमाडौंबाट बाजुरासम्म बसमा यात्रा गर्ने यात्रुले अब कम्तीमा ३१३२ देखि ४५१० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । सरकारले सोमबारदेखि वृद्धि गरेको भाडादर अनुसार काठमाडौंबाट बाजुरा आउने यात्रुले नर्मल बसमा ३१३२ रुपैयाँ, डिलक्स बसमा ३७५९ रुपैयाँ र सुपर डिलक्स बसमा ४५१० रुपैयाँ तिर्नुपर्ने भएको छ । भाडादर वृद्धि हुनुअघि सरकारले गत २०८० साउन ३१ मा काठमाडौं– बाजुराको एकतर्फि भाडा ३०३२ रुपैयाँ तोकेको थियो ।
संघीय राजधानी काठमाडौंबाट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सडक दूरी ६८८ किलोमिटर छ । काठमाडौंबाट धनगढी बसमा यात्रा गर्ने यात्रुले अब कम्तीमा २०११ देखि २८९५ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । सरकारले सोमबारदेखि वृद्धि गरेको भाडादर अनुसार काठमाडौंबाट धनगढी जाने यात्रुले नर्मल बसमा २०११ रुपैयाँ, डिलक्स बसमा २४१३ रुपैयाँ र सुपर डिलक्स बसमा २८९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । भाडादर वृद्धि हुनुअघि सरकारले गत २०८० साउन ३१ मा काठमाडौं–धनगढीको एकतर्फ भाडा १९४६ रुपैयाँ तोकेको थियो ।
काठमाडौंबाट पश्चिमी सीमान्त सहर महेन्द्रनगर (कञ्चनपुर) पुग्न यात्रुले २०१७ देखि २९१९ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यसअघि काठमाडौं–महेन्द्रनगरको भाडादर १९६२ रुपैयाँ तोकिएको थियो । वृद्धि भएको भाडादरअनुसार महेन्द्रनगर जाने यात्रुले नर्मल बसमा २०२७ रुपैयाँ, डिलक्स बसमा २४३२ रुपैयाँ र सुपर डिलक्स बसमा २९१९ रुपैयाँ खर्च गर्नुपर्ने छ ।
काठमाडैंबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने यात्रुले नर्मल बसमा २३६९, डिलक्स बसमा २८४२ र सुपर डिलक्स बसमा ३४११ रुपैयाँ भाडावापत दिनुपर्ने छ । काठमाडौंबाट ७७३ किलोमिटरको दूरीमा रहेको डडेल्धुराको यसअघि २२९३ रुपैयाँ बसभाडा निर्धारण गरिएको थियो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा जान काठमाडौंबाट कम्तीमा १८०२ रुपैयाँ देखि बढीमा २५९५ रुपैयाँ लाग्ने भएको छ । यसअघि काठमाडौंबाट झापा (कुमारखोद) सम्मको भाडादर १७४४ रुपैयाँ कायम थियो । काठमाडौंदेखि कुमारखोज (झापा)को दूरी ६१५ किलोमिटर रहेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौंबाट नर्मल बसमा जाने यात्रुले अब १८०२ रुपैयाँ, डिलक्समा यात्रा गर्ने यात्रुले २१६२ रुपैयाँ र सुपर डिलक्समा यात्रा गर्ने यात्रुले २५९५ रुपैयाँ भाडावापत बस व्यवसायीलाई बुझाउनुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले भाडादर वृद्धिबारे जारी गरेको सूचनाअनुसार डिलक्स सुविधा लिएका र सुपर डिलक्सको सुविधा लिएका यात्रुवाहक सवारी साधनले निर्धारित भाडादरमा २० प्रतिशत थप रकम लिन सक्ने उल्लेख छ ।
‘डिलक्स सुविधा लिएका जुनसकै प्रकारका यात्रुवाहक सवारी साधन (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भीएफटीसी कार्यालयहरूबाट डिलक्सको सुविधा लिएको प्रमाणित भएको) ले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने र सुपर डिलक्सको सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भीएफटीएस कार्यालयहरूबाट सुपर डिलक्सको सुविधा लिएको प्रमाणित भएको) डिलक्सको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने,’ सूचनामा भनिएको छ ।