काठमाडौं — नेकपा एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।
‘नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका बिचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौं।’ प्रतिवेदनमा भनिएको छ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं।’
न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम
अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा लामो समयदेखि न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम लगाउँदै समाजमा दिगो मेलमिलाप, दण्डहीनताको अन्त्य र दिगो शान्तिको आधार तयार गरियोस् भन्ने चाहना नेकपा (एमाले) को रहेको उल्लेख छ।
‘लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक’ लाई संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको छ। यसले ऐनको रुप लिइसकेको छ। पीडितलाई न्याय र पीडकलाई सजाय दिँदै शान्ति प्रक्रियाको यो अन्तिम कामलाई टुङ्गोमा पुऱ्याउन यो महत्वपूर्ण उपलब्धि हो। गठनमा केही ढिलाइ भएको छ। यसले केही अन्यौल पनि सिर्जना गरेको छ।’प्रतिवेदनमा भनिएको छ,‘ऐनको भावना अनुरुप छिटै दुई आयोग गठन होऊन् र लामो समयदेखि न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम लगाउँदै समाजमा दिगो मेलमिलाप, दण्डहीनताको अन्त्य र दिगो शान्तिको आधार तयार गरियोस् भन्ने चाहना नेकपा (एमाले) को रहेको छ।’
ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा
एमालेले नयाँ सरकार गठन भएपश्चात मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको उल्लेख गरेको छ। पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको प्रधानमन्त्रीसमेत रहेका ओलीले जानकारी गराएका छन्। ‘राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको एमालेको ठहर छ। वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ। पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ। गतः वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ।’ प्रतिवेदनमा भनिएको छ, ‘पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको छ र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको छ। विश्वव्यापी रुपमा नेपाल लगानीका लागि अनकल मलक हो भन्ने सन्देश गएको छ।’
पूर्णपाठ