दैलेख— दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म र ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत देखा परेको छ । पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।
पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल डा. गणेशनाथ त्रिपाठीले चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रुपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुने बताए । ‘आज बिहानसम्म ४ हजार ९ मिटरसम्म ड्रिलिङको काम भएको छ,’ उनले भने, ‘सम्झौता अनुसार ४ हजार हो तर प्राविधिक कारण १३ मिटर थप ड्रिलिङ हुने भएको छ ।’
उनका अनुसार ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डाटा र तथ्यांक एकै पटक आउनेछ, त्यसपछि ग्यास भण्डार भएको या नभएको थाहा हुन्छ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको संकेत पाइएको छ ।
नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । पेट्रोलियम पदार्थको उत्खनन र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्ने गरी चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो ।