काठमाडौँ —नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।
यस्तै बैठकले क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या र पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिएर नयाँ क्रियाशील सदस्यता वितरण गर्न वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नही रसाइलीले जानकारी दिए । दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय भएको उनले बताए ।
रसाइलीका अनुसार डोल्पामा क्रियाशील सदस्यता नवीकरणका लागि कार्यवाहक सभापतिलाई फारम पठाइदिने निर्णय भएको छ ।