कैलालीका पत्रकारहरूको हितका लागि बिमा सुविधा लागू गरिने भएको छ। मंसिर २८ गते निर्वाचित पत्रकार महासंघ कैलालीको पहिलो बैठकले सक्रिय पत्रकारहरूको दुर्घटना तथा स्वास्थ्य बिमा गर्ने निर्णय गरेको हो। मिडिया हाउसको सिफारिसमा बिमा प्रक्रिया अघि बढाइने अध्यक्ष श्रवण देउवाले जानकारी दिएका छन्।
बिमाले पत्रकारहरूलाई दुर्घटना वा स्वास्थ्य समस्याका बेला आर्थिक सहयोग पुर्याउने अपेक्षा गरिएको छ। त्यसै गरि महासंघले धनगढीमा कम्प्युटर, फोटोकपि मेसिन, र इन्टरनेट सुविधासहित सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। यसले पत्रकारहरूलाई कार्यालयका साना कामका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्नेछ।
कैलालीका श्रमजीवी पत्रकार र मिडिया हाउसहरूको अभिलेख तयार गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। सचिव तेजराज भट्टको संयोजकत्वमा लोकु सिंह ठकुरी र गगन अयडी सदस्य रहेका छन्। महासंघले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पत्रकार आचारसंहिताको पालना गरी समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ। अध्यक्ष देउवाले आगामी दिनमा पत्रकारहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।