बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नन्द बहादुर रावतलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
मन्त्रालयले शुक्रवार गाउँपालिकालाई पत्र पठाउँदै नेपाल स्वास्थ्य सेवा अधिकृत स्तर छैटौं रावतलाई गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ । रावतलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।
यस अघि पुष १६ गते बसेको खप्तड छेडेदह गाउँ कार्यपालिकाको बैठकले पनि स्वास्थ्य संयोजक रावतलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । गृह पालिकाका स्थानीय समेत रहेका रावत गाउँपालिकामा २०७४ साल देखि नै स्वास्थ्य संयोजकका रुपमा कार्यरत थिए ।
गाउँपालिकामा यस अघि करिब ७ महिनादेखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत नन्दकृष्ण पाध्यायको सरुवापछि महिनौ दिनदेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । पाध्याय असोज ८ गते गाउँपालिका सूचना अधिकारी कृष्णराज जोशीलाई कामकाजको जिम्मेवारी दिएर गएका हुन् ।
करिब तीन महिना पछि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको टुंगो लाएपछि अब विकास निर्माणका काम, योजना, आर्थिक कारोवार लगायतका सबै कामकाज तीव्र रुपले सञ्चालन हुने गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।