• होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

  • बुधबार, पुस १७, २०८१
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने बुधबार घोषणा गरेको छ । यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह/अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने श्रम मन्त्रालयले जनाएको छ । सरकारले यसअघि २०५४, ०६१, ०६९ र ७६ मा यो सम्मेलन गरेको थियो ।

‘अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुलाई नियमनमात्रै हैन, प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ,’ श्रम मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रम प्रवक्ता डण्डुराज घिमिरेले भने,‘उद्योग र प्रतिष्ठानहरुको भूमिका र यसको लागि सम्पूर्ण आपूर्ति श्रृंखलामा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ ।’

सम्मेलनमा आन्तरिक रोजगार प्रवर्द्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रुपान्तरण र नेपालमा आप्रवासन प्रक्रिया र आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धनमा तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोग लगायतका विषयमा छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार