बाजुरा— नेपाली काँग्रेस बाजुराले ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएकाे छ । साेमवार पार्टी कार्यालयमा एक अाैपचारिक कार्यक्रमका बिच ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यताका साथ मनाएकाे हाे ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति तथा पार्टी प्रशिक्षण विभागका केन्द्रीय सदस्य कविराज पण्डितले देश र जनतालाई एकताको खाँचो रहेको बताएका छन् । पण्डितले देशको अखण्डता,सार्वभौमसत्ता बचाउनका लागि जननिर्वाचित विपी कोइरालाले ल्याएको एकता र मेलमिलापलाई आत्मसाथ गरेर जानुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै नेकपा एमालेका संगठन विभाग प्रमुख तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले देशमा आएका समस्याहरुको समाधानका लागि एकता र मेलमिलाप नै आवश्यक रहेको बताएका छन् ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले विपी राजनितिज्ञ मात्र नभइ एक उग्र क्रान्तिका साहित्यकार भएकाले उनले लेखेका कृतिहरु अविस्मरीय भएको बताए । विपीले देशमा हुँदा वा देश बाहिर हुँदा पनि देश निर्माणको सधैं चासो र चिन्ता लिएको अध्यक्ष रावत बताएका छन् । विपीसंगै कम्युनिष्टका पुष्पलाल श्रेष्ठको पनि भारतमा भेटपछि राणाका विरुद्ध आन्दोलन र राणा शासन अन्त्यका लागि सहकार्य र एकता गरेर अघि बढेको स्मरण रावतले गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्र थापाले पनि मन्तव्य राखेका थिए । नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुर्व पार्टी सभापति तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्य कविराज पण्डित,नेकपा एमाले संगठन विभाग प्रमुख अमरबहादुर खड्का,नेकपा माओवादी केन्द्रका नेता चन्द्र थापा,नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत,काँग्रेस नेता चक्रबहादुर शाह लगायत सहभागी थिए । कार्यक्रमको संचालन पार्टी उपसभापति पदम बडुवालले गरेका हुन् ।