• होमपेज
  • बडिमालिका
  • दुर्घटनामा मृत्यु भएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते बडीमालिकामा शोक बिदा

दुर्घटनामा मृत्यु भएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते बडीमालिकामा शोक बिदा

  • आइतवार, पुस १४, २०८१
दुर्घटनामा मृत्यु भएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते बडीमालिकामा शोक बिदा

बाजुरा —यहीँ पुस ११ गते बिहीबार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका बडीमालिका नगरपालिका ७ का धर्मबहादुर खत्रीको सम्झनामा शोक बिदा दिइएको छ । बडीमालिका नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको हो ।

नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका परिवार अत्यन्तै दुःखी र स्तब्ध भएको भन्दै सूचनामार्फत दुःख व्यक्त गरेको छ ।

त्यस्तै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै पुस १२ गते बसेको कार्यपालिकाको बैठकबाट पुस १६ गते मंगलवारका दिन नगरपालिकाभर शोक बिदा मनाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बताएका छन् । उनका अनुसार सो दिन नगरपालिका अर्न्तगतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय र शैक्षिक संघसंस्थाहरुमा एक दिन शोक बिदा दिइएको छ ।

त्यस्तै सूचनामार्फत नगरपालिकाले शोक बिदाको दिन बिहान ९ बजे नगरपालिका तथा सो अर्न्तगतका कार्यालयहरुमा मौनधारणसहित शोक मनाउन आग्रह गरेको छ ।

खत्री वडा नम्बर ७ मै रहेको मार्तडी स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए । उनको बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मृत्यु भएको थियो ।

याे पनि पढ्नुहाेस्

बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु

चर्चामा

सम्बन्धित समाचार