बाजुरा —बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।
जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको केन्द्र जुड्डीमा एक औपचारिक कार्यक्रमकाविच जनप्रतिनीधि, नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा राहत वितरण गरिएको छ । गाउँपालिकामा पूर्ण रुपमा घर क्षति भएर पिडित परिवारहरुलाई लुगा कपडा, त्रिपाल, कम्मल लगायतका राहत सामग्री वितरण गरिएको अध्यक्ष शाहीले बताए ।
भूकम्पका कारण जगन्नाथमा १ सय ८ परिवारका घर पूर्ण रुपमा भत्किएका थिए भने ५ सय ६८ घरमा आंशिक रुपमा क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ ।
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर स्केलको भूकम्पबाट जिल्लामा सबैभन्दा बढी सो पालिकामा भौतिक क्षति गरेको जनाएको छ ।