बाजुरा —जिल्ला समन्वय समिति बाजुराले जिल्लामा अवस्थित बडीमालिका, बुढीनन्दा, रानीसैन लगायतका क्षेत्रको पर्यटकीय विकासको लागि पर्यटन पूर्वाधारको व्यवस्था गरी दिन सरकारसँग अनुरोध गरेको छ । शुक्रवार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभाले बडिमालिका पर्यटन विकास समितिको गठनका लागि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै सभाबाट बाजुराबाट निर्वाचित सांसद बद्रिप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री नियुक्त र स्वामीकार्तिक खापर गाउँपालिकामा २०८१ मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित सुलोचना बुढालाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
त्यसै गरी जिल्ला सभाले जिल्ला समन्वय समितिको कार्यालयबाट सम्पादन भएका कामकारबाहीको समीक्षा र मदिरा व्यवस्थापन तथा लागूपदार्थ नियन्त्रणका लागि सबै स्थानीय तहहरुले एउटै ऐन बनाएर लागू गर्ने र एकिकृत प्रयास गर्ने निर्णय गरेको निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन् । उनका अनुसार जिल्ला समन्वय समितिको भवन पुरानो र जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला समन्वय समिति अन्तर्गत जिल्लामा सञ्चालित अल्पकालीन महिला सुरक्षित आवास गृहको बजेट व्यवस्थाका लागि आ.व २०८१/०८२ मा प्रति पालिका रु. १ लाख सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
सातौं जिल्ला सभाले जिल्ला अस्पतालमा ल्याव सेवाको स्तरोन्नती, विशेषज्ञ सेवा विस्तारका लागि बजेट व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने, समन्वय समितिको चालू आवको बजेट अनुमोदन तथा परित गर्ने निर्णय गरेको छ ।
त्यस्तै पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहका नागरिकको सहजताका लागि कोल्टीमा ईलाका प्रशासन, नापी र मालपोत कार्यालयको स्थापनाका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसै गरी बाजुरा सहितका जिल्लालाइ तराईसँग सबैभन्दा छोटो सडक दुरीमा जोड्ने सुदूरपश्चिमको लाइफलाइनको रुपमा रहेको सेती लोकमार्गको द्रुत निर्माणका लागि सरकारलाई अनुरोध गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै सातौं जिल्ला सभा सम्पन्न भएको जनाएको छ ।
जिल्ला सभामा ९ वटै पालिकाका प्रमुख, उप प्रमुख,अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका सदस्य लगायतको सहभागितामा रहेकाे थियाे ।