नेकपा एमाले निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको बताएकी छिन् । बुधबार बसेको एमाले सचिवालय बैठकले तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि खोसेको थियो । त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुने बताएकी हुन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिवपुरी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ,’ उनले भनेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत विरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चायतकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’
पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र बिन्दा पाण्डेको जिम्मेवारी खोसेको छ भने एमालेले डाक्टर भीम रावलको संगठित सदस्यता खोसेको छ ।