काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसदपछि राज्य व्यवस्था तथा सुशासन समिति सदस्यबाट पनि निलम्बनमा परेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा सभापति रामहरि खतिवडाले रविलाई समितिको सदस्यबाट पनि निलम्बन गरिएको निर्णय सुनाएका हुन् ।
सांसद पदबाट निलम्बनमा परेपछि रविले सर्वोच्चमा न्यायका लागि गुहार माग्ने तयारी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा जिल्ला अदालत कास्कीमा मुद्दा चलेपछि सांसद पदबाट निलम्बित लामिछानेले अब सर्वोच्चमा रिट हाल्ने तयारी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार ईमेलमार्फत् पठाएको पत्रअनुसार संघीय संसद् सचिवालयले सोमबार निलम्बनसम्बन्धी सूचना निकालेको थियो ।