बाजुरा —बाजुरामा ८ बर्षकी वालिकाको हत्या प्रकरणमा अनुसन्धान चलिरहको छ । मंसिर २८ गते साँझ बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको निर्मम हत्या भएको घटनामा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरी रहेको छ ।
प्रहरीले ८ बर्षीय वालिकाको निर्मूल हत्या गरेको आरोपमा सोहि ठाउँका अन्दाजी ४८ बर्षका नन्दे सनाइलाई घटना भएकै दिन नियन्त्रणमा लिई सकेको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराले वालिकाको हत्या गरेको घटनामा केहि तथ्य प्रमाणहरु फेला परेपनि सोमवार जिल्ला अदालत बाजुराबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
हत्या गरेको आरोप लागेका नन्देले धारिलो हँसिया प्रहार गरी वालिकाको हत्या गरेको जनाईएको छ । उनले वालिकाको घाँटी काटेर घर भित्र झुण्डाएर आफू बन्चरो समातेर सोहि ठाउँमा बसेको अवस्थामा नन्देलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हत्या गरेर वालिकाको टाउको साथमा लिएर घरमा रहेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताए । वालिकाका बाजेले नन्देलाई नातिनीको श्रीमान भनेर जिस्काउने गरेकाले त्यसलाई नै मारि दिएपछि कसैले पनि भन्दैनन् भनेर नन्देले अनौपचारिक रुपमा प्रहरी समक्ष बयान दिएका छन् । उनलाई सोमवार नै जिल्ला अदालत बाजुरामा उपस्थित गराएर १० दिनको म्याद थप गरेको जनाएको छ । नन्दे नाताले वालिकाका काका पर्छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलीपकुमार गिरीले वालिकाको शव जिल्ला अस्पतालमा पोष्टमार्टम पछि शनिवार आफन्तले बुझिसकेको बताएका छन् ।
प्रहरीले घटना भएकै दिन आरोपित व्यक्तिबाट एक थान हसिया, एक थान बन्चरो र एक कोदालो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।