बाजुरा —बाजुरामा भारत जान्छु भन्दै घरबाट हिडेका ४ जना बच्चाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोट ठूलापाटा गाउँका ४ जना बच्चाहरुलाई सदरमुकाम मार्तडी स्थित बसपार्कबाट आज दिउँसो प्रहरीले समातेको हो ।
ठूलापाटाका अन्दाजी १३। १४ बर्षका सुवास कडारा, शिखर तिवारी, रविन्द्र कडारा र टंक कडारा घरबाट भागेर भारत तिर जान लागेका थिए । उनीहरु सबै गाउँमै ५। ६ कक्षामा पढि रहेका र घरबाट कसैलाई थाहा नदिएर भागेर गएका उनका आफन्त रत्न कडारा बताएका छन् ।
मार्तडी स्थित टिकट काउण्टरका कर्मचारीले चारै जना बच्चाहरुलाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
उनीहरु घरबाट स्याउ बेच्न कोल्टी आएको र त्याँहाबाट धनगढी हुदैँ भारत जान लागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले उनीहरुलाई समातेर आफन्तको जिम्मा लगाउने तयारी भएको छ ।