बाजुरा —बाजुराको बुढीगंगा नगरपालिका स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मंसिर २८ गतेदेखि वडा नम्बर ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा सञ्चालन भएको पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगितामा सहभागी सबै विद्यालयहरुलाई पछि पार्दै भानोदय मावि उपाधि जित्न सफल भएको छ ।
नगरपालिकाका अनुसार भानोदय माविले १९ स्वर्ण, २ रजत र ३ कास्य सहित प्रथम स्थान हासिल गरेको छ । त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कास्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ । तीन दिनसम्म सञ्चालन भएको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको जनाएको छ ।
बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्ण बहादुर थापा रहेका थिए । कार्यक्रममा प्रतियोगितामा विजेता, उपविजेता तथा सहभागीहरुलाई प्रमाणपत्र मेडल सहित सम्मान गरिएको छ ।