• होमपेज
  • राजनीति
  • बाजुरा पुगेर पर्यटनमन्त्री पाण्डेले गरे सरकारी कार्यालय प्रमुखसँग छलफल

बाजुरा पुगेर पर्यटनमन्त्री पाण्डेले गरे सरकारी कार्यालय प्रमुखसँग छलफल

  • मङ्लबार, मंसिर २५, २०८१
बाजुरा पुगेर पर्यटनमन्त्री पाण्डेले गरे सरकारी कार्यालय प्रमुखसँग छलफल

बाजुरा—संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले बाजुरा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेका छन् । मंगलवार बिहान जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रममा मन्त्री पाण्डेको उपस्थितिमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

जिल्ला भ्रमणको क्रममा सोमबार राति गृहजिल्ला पुगेका मन्त्री पाण्डेले समग्र जिल्लाको अवस्था, कार्यालयहरुका समस्या र सेवा प्रवाहका बिषयमा छलफल गरेका छन् ।   अन्तरक्रिया कार्यक्रममा बोल्दै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख रमेश कुमार यादवले निकुञ्जमा पहिले ठेकेदारले काम नगर्दा र अहिले बजेट नहुँदा पर्यटन मन्त्रालय अन्तर्गतका करिब ५ करोडमा निर्माणधिन दुई वटा पर्यटन विश्राम अलपत्र अवस्थामा रहेको बताएका छन् । त्यस्तै उनले खप्तड राष्ट्रिय निकुञ्जमा हालसम्म पनि विद्युत र सञ्चार सेवा नहुँदा हिँउदमा बाक्लो हिँउ परेपछि सम्पर्क विहिन अवस्था हुने गरेको भन्दै आवश्यक पहल गरिदिन मन्त्री पाण्डेलाई अनुरोध गरेका छन् ।

नेपाल टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्काले खप्तड र बडीमालिका क्षेत्रमा टावर निर्माणका लागि आवश्यक पहल भइरहेको बताए ।  त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडीका प्रमुख उमेश भण्डारीले जिल्लामा खाद्यान्नका लागि धेरै कोटा भएपनि जीर्ण भवनमा चामल भण्डार गर्न समस्या रहेको भन्दै आवश्यक भवन निर्माणका लागि पहल गरिदिन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रमुख मान बहादुर चाडले नागरिकले स्थानीय तह र घरेलु दुवैमा उद्योग दर्ता गर्नुपर्ने अवस्थाले दोहोरो कर तिर्न बाध्य रहेको बताए ।

त्यस्तै जिल्ला अस्पताल बाजुराका प्रमुख डा.चन्द्रशेखर यादवले जिल्ला अस्पतालमा सुविधायुक्त संरचना बनेपनि आवश्यक जनशक्ति र विशेषज्ञ सेवा कम हुँदा अस्पतालमा आउने बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा विशेषज्ञ सेवा थप गर्नसके पनि बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता हट्ने र अस्पतालमा हाल एउटा मात्रै एम्बुलेन्स हुँदा समस्या भइरहेको भन्दै थप एक एम्बुलेन्सका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

खेलकुद विकास समितिकी लक्ष्मि बडुवालले जिल्लामा उपयुक्त खेलमैदान नहुँदा ठूलो समस्या भइरहेको बताइन् ।

त्यस्तै जिल्ला कारागार प्रमुख अनिलकुमार तिवारीले कारागारको पुरानो जीर्ण भवनमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी हुँदा उनीहरुलाई सास्ती भइरहेको बताए । त्यसै गरी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीप गिरीले जिल्लामा प्रहरीका लागि उपयुक्त भवन नभएको र गाडीको ठूलो समस्या रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विपद्जन्य घटनाबाट पिडितहरुको संरचना निर्माणका लागि स्थानीय तह र प्रदेशबाट आएपनि संघबाट रकम नआउँदा ठूलो संकट भइरहेको बताए । त्यस्तै जिल्लामा पटकपटक गएको भूकम्पबाट पिडितहरुको करिब ९ करोड रकम माग गरिएको र जिल्लामा विभिन्न अलपत्र आयोजनाका बारेमा सम्बन्धित निकायमा ताकेता गरिदिन मन्त्री पाण्डे समक्ष अनुरोध गरे ।

कार्यक्रममा सबै सरकारी कार्यालयका प्रमुखहरुले आवश्यक संरचनाको अभाव, कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भइरहेको बिषय मन्त्री पाण्डेलााई सुनाएका छन् । कार्यक्रममा मन्त्री पाण्डेले कार्यालयका समस्या लिखित रुपमै आफूलाई उपलब्ध गराउन आग्रह गर्दै समस्यालाई सुचिबद्ध गर्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डे, सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम शाही, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, सुरक्षा निकायका प्रमुख, सम्पुर्ण सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार