बाजुरा– बाजुरा जिल्ला कारागारका कैदीबन्दीहरुलाई कम्बल वितरण गरिएको छ । विगत केही दिनयता बढेको अत्यधिक चिसोबाट प्रभावित भएको भन्दै बाजुरा कारागारका कैदीबन्दीलाई सोमवार जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत कम्बल वितरण गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले चिसोको समयमा कैदीबन्दीहरुलाई सानो सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिमा रहेका कम्बल वितरण गरिएको बताए ।
जिल्ला कारागार कार्यालयको समन्वय तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा १० सेट कम्बल कैदीबन्दीहरुलाई वितरण गरिएको कारागार प्रमुख अनिल कुमार तिवारीले बताएका छन् । उनका अनुसार आइतवार सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल र कोष तथा नियन्त्रक कार्यालय बाजुराका प्रमुख भानुभक्त उपाध्यायले कारागारको अनुगमन गरेका थिए ।
कारागार प्रमुख तिवारीले अत्याधिक चिसोबाट बच्न केहि राहत होस् भनेर पहिलो चरणमा केहि कैदीबन्दीहरुका लागि कम्बल वितरण गरिएको र थप आवश्यक कम्बल सहित खेलकुदका सामग्रीका लागि जिल्लाका अन्य सरकारी तथा गैरसरकारी कार्यालयसँग माग गरेको बताएका छन् । जिल्ला कारागार बाजुराको जीणर् संरचनामा हाल क्षमता भन्दा करिब तेब्बर बढी कैदी छन् ।