बाजुरा– बाजुरा जिल्लामा लैङ्गिक हिंसाको अवस्था रोकथामका लागि सरोकारवाला निकायको भूमिका विषयक संवाद कार्यक्रम गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ) जिल्ला शाखा बाजुराको आयोजना तथा जिपिइ र सामाजिक विकास कार्यालय बाजुराको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा जिल्लामा लैङ्गिक हिंसाको अवस्था र रोकथामका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सहित सरोकारवालाहरुको भूमिका विषयमा संवाद कार्यक्रम गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल बाजुराले जनाएको छ ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाभर एक बर्षको अवधिमा लैङ्गिक हिंसाको एउटा मात्रै घटना दर्ता भएको जनाएको छ । जिल्लामा घरेलु तथा लैङ्गिक हिंसामा पुरुषबाटै भन्दा महिला बढि पिडित रहेको र अन्य जिल्ला भन्दा बाजुरामा हिंसाका घटना कम रहेको तथ्यांक प्रस्तुत गरेको छ ।
त्यस्तै बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाले नगरपालिकामा गत बर्ष २४ शारीरिक, १ सय २० मानसिक, २ वैवाहिक बलात्कार, १ बालबिवाह, बहुबिवाह लगायतका एक सय ५९ मुद्धा सेफहाउसमा दर्ता भएको जनाएको छ । त्यस्तै एकद्धार संकट व्यवस्थापन केन्द्रमा ४५ शारीरिक, ५९ मानसिक, १४ यौनिक, १३ बहुबिवाह लगायतका मुद्धा आएको र धेरै अन्य पालिकाका नागरिक बस्ने भएकोले तथ्यांक बढी देखिएको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताइन् । लैङ्गिक हिंसा विरुद्ध सुरुमा आफैले इन्कार गरेर प्रतिकार गर्ने र नभए पिडकलाई कानुनी दायरामा ल्याउन सके पनि समाजमा यस्ता घटना कम गर्न सकिने रोकायाले बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले लैङ्गिक हिंसाको घटना सम्बन्धित निकायमा नपुग्दै बिचैमा मिलाउन बिचौलियाहरु लाग्ने गरेको बिषयमा हामी सबै जानकारी रहेको बताएकी छन् । त्यस्तै समाजमा लैङ्गिक हिंसाको एउटा मात्रै घटना कानुनी रुपमा र्फछ्यौट गर्न सकेपनि वास्तविक कानुन र प्रकिया समुदायमा महशुस भएपछि रोकथाममा थप सहयोग पुग्ने उपप्रमुख थापाले बताइन् ।
त्यस्तै नगर प्रमुख अमर खड्काले पालिकामा यस बर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अवधिभर प्रत्येक वडा तथा समुदायमा अन्तर संवाद कार्यक्रम गरिएको बताएका छन् । नगर प्रमुख खड्काले लैङ्गिक हिंसाका घटना रोकथामका लागि नगरपालिकाले विभिन्न संघसंस्थाहरुको सहयोगमा सबै वडा तथा समुदाय विद्यालय स्तरमा कार्यक्रम गरि रहेको बताए ।
त्यसै गरी कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा लैङ्गिक हिंसाका घटना रोकथामका लागि अहिलेको वास्तविक अवस्था, एकिन तथ्यांक निकालेर बृहत रुपमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ) जिल्ला शाखा बाजुराका अध्यक्ष मदन जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । बिषिष्ठ अतिथिमा नगर उपप्रुख नन्दा थापा रहेको कार्यक्रममा वडा अध्यक्ष, महिला बालवालिका शाखाका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी पत्रकार लगायतको उपस्थिति रहेको थियो । संचारकर्मी सरिता नेपालीले स्वागत गरेको संवाद कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मिराज पाध्यायले गरेका थिए ।