• होमपेज
  • बडिमालिका
  • बडीमालिकाको १० औं स्थापना दिवसमा बिभिन्न बिधाका १३ जना सम्मानित

बडीमालिकाको १० औं स्थापना दिवसमा बिभिन्न बिधाका १३ जना सम्मानित

  • आइतवार, मंसिर १६, २०८१
बडीमालिकाको १० औं स्थापना दिवसमा बिभिन्न बिधाका १३ जना सम्मानित

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा १३ जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रबाट पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै १३ जनालाई एकैसाथ सम्मानित गरेको हो । जस बडीमालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मालिका माविका प्राचार्य शुभराज पाध्यायलाई उत्कृष्ट शिक्षकमा सम्मानित गरेको छ ।

त्यस्तै पत्रकारिताको माध्यमबाट नगर समृद्धिका लागि योगदान पुर्याएको भन्दै बडीमालिका खवरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय र नागरिक रैबारका कार्यकारी सम्पादक मदन विकलाई सम्मान गरेको छ ।

स्थापना दिवसकै अवसरमा लामो समयदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहि काम गरेको शिक्षक यम शर्मा, समाजसेवी तर्फ काल्चे दमाई, उत्कृष्ट व्यवसायीक कृषकमा हर्क नाथलाई पनि सम्मानित गरिएको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । त्यस्तै नगरपालिकाको कार्य सम्पादनका आधारमा नगरपालिकाका कर्मचारीहरुमा प्राबिधक शंकर उपाध्याय, लेखा अधिकृत विमला पाध्याय, कर्मचारी मोहनराज पण्डित र महिला प्रधानाध्यापकका रुपमा सोनाम छोमो तामागं रोकायालाई सम्मानित गरिएको छ ।

बाजुराको पहिलो नगरपालिकाका रुपमा २०७१ साल म‌सिर १६ आजकै दिनमा घोषणा भएको बडीमालिका नगरपालिकाले स्थापनाको १० औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

कार्यक्रमको विशिष्ट अतिथिमा नगरउपप्रमुख नन्दा कुमारी थापा, पूर्व नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, नेकपा एमाले बाजुराका सचिव काँशी विक, काँग्रेसका गोपाल कार्की लगायत रहेका थिए । बडीमालिका नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले संचालन गरेको कार्यक्रम खुलामंचमा आयोजना गरिएको थियो । नगरको १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाले आज पालिकाभित्र सार्वजनिक विदा समेत दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार