धनगढी— वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले बडिमालिका क्षेत्रको जैविक विविधतालाई जोगाउन संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् । बाजुरामा पर्ने बडिमालिका क्षेत्र प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । जैविक विविधताले भरिपूर्ण बडिमालिका क्षेत्र पछिल्ला वर्षहरुमा संरक्षणको अभाव तथा मानव अतिक्रमणमा परिरहेको संरक्षणकर्मीहरु बताउँछन् ।
बिना कुनै अध्ययन हाल बाजुरा सदरमुकाम मार्तडीदेखि बडिमालिका क्षेत्रसम्म मनपरी डोजर चलाएर सडक निर्माण भइरहेको छ । ‘बडिमालिका क्षेत्रमा डोजर चलाउनु भनेको त्यस क्षेत्रको जैविक विविधता विकास गर्नु हो,’ संरक्षकर्मीहरु भन्छन् ।
धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले बडिमालिकालाई संरक्षित क्षेत्र बनाउन कानुनी प्रक्रिया हुने र त्यसका लागि आवश्यक छलफल सुरु गरिएको बताए । ‘आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजनाका लागि छलफल भइरहेको छ,’ मन्त्री शाहीले भने, ‘यसका लागि सम्बन्धित क्षेत्रको स्थानीय तहको समन्वयमा थप प्रक्रियाहरु अघि बढ्नेछ ।’
कान्तीपुर दैनिकबाट