काठमाडौं —राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१/८/६ को सिफारिसमा उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।’
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। आगामी आइतबार गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पदमा उपनिर्वाचन हुन लागेको छ। जसमध्ये एक वडामा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनको दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।