बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् ।
सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताएका छन् । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउन लागिएकाे छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको पहल भएपनि आज साँझ परिसकेकाले अब भोलि मात्रै आउने भएको छ ।
बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोलि घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।