बाजुरा —राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले कांग्रेस कम्नियुष्टहरुले जनतालाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् । सोमवार राप्रपाको सुदूरपश्चिम प्रदेश यात्रा अभियानका क्रममा बाजुराको कोल्टीमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन दलले जनतालाई एकआपसमा लडाई रहेको र जनतालाई बन्धक बनाइरहेको आरोप समेत लगाएका छन् ।
त्यस्तै उनले एमाले कांग्रेसप्रति लक्षित गर्दै बाजुरामा चुनावको समयमा जनतालाई एकआपसमा लडाएर आफ्न्तबाटै मार्ने मर्ने अवस्था बनाउनेहरु अहिले मिलेर सरकार चलाइरहेको बताए । अहिलेको नेतृत्व इमान्दार नभएर बेइमान भएको भन्दै नेता लिङ्देनले यिनीहरुकै कारण देश बन्न नसकेको बताए ।
कांग्रेस, एमाले र माओवादी पार्टी एक सिक्का दुई पाटा भएको र यिनीहरुले जनतालाई बन्धक बनाएर राखेकाले यसबाट निकास दिनका लागि अब आफ्नो मत परिवर्तन गर्ने बेला आएको बताए । त्यस्तै उनले भने “यो देश कस्तो बनाउने भन्ने कुरा जनताको हातमा छ, नेतालाई मात्रै गाली गरेर पुग्दैन, नेता बनाउने जनता पनि दोषि छन् ।” त्यस्तै बृहत आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले देशको विकास र परिवर्तनका लागि अब प्रत्यक्ष प्रधानमन्त्री र अभिभावकिय संस्थाका रुपमा राजा हुनुपर्ने बताए ।