बाजुरा– सदरमुकाम मार्तडीमा निर्माण गरिएको कृषि बजार तथा कोल्ड च्याम्बर बडीमालिका नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कृषि निर्देशनालय डोटी र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त च्याम्बर शनिबार सुदूरपश्चिम प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । कृषि बजार तथा कोल्ड च्याम्बर पालिका र जिल्ला भरीका कृषहरुले उतपादन गरेका रैथाने बाली र अन्य उत्पादनहरुको बजार व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
बडीमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको ४१ लाख १९ हजार ९८४ रुपैया गरी ८५ लाख एक हजार ८४९ रुपैयाको लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताएका छन् । कृषि बजारमा कृषकहरुले उत्पान गरेर ल्याएका तरकारी तथा खाद्यान्न बाली विक्री र उनीहरुलाई कोल्डमा स्टोर गर्ने गरी खरिद विक्रीको कार्य हुने छ ।
कोल्ड स्टोर निर्माणपछि कृषकहरुले उत्पादन गरेका फलफुल, तरकारी, रैथाने बालीको एकै ठाउँबाट विक्री वितरणमा सहज हुनेभएको छ । कृषि बजार तथा कोल्ड च्याम्बरमा कृषि विकास निर्देशनालयको सहयोगमा ७ र नगरपालिकाले पाँच गरी १२ कोठा निर्माण गरिएका छन् । कृषि बजार तथा कोल्ड च्याम्बर २५ मेट्रिक टन क्षमता भएको निर्माण गरिएको छ ।
२०७६ सालमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएपनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर आज एक औपचारिक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले जनाएको जनाएको छ ।