• होमपेज
  • देश
  • कांग्रेस उपसभापति गुरुङसँग सीआईबीमा बयान

कांग्रेस उपसभापति गुरुङसँग सीआईबीमा बयान

  • बिहिबार, कार्तिक २९, २०८१
कांग्रेस उपसभापति गुरुङसँग सीआईबीमा बयान

काठमाडौँ– ललितपुरको मितेरी सहकारीको रकम ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङसँग प्रहरीले ‘बयान कागज’ गराएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार लाजिम्पाटस्थित कार्यालयमै बोलाएर कागज गराएको हो ।

करिब साढे ४ घण्टा भएको बयानमा गुरुङले सहकारी ठगीमा आफू संलग्न नरहेको तर सहकारीका कारण आफ्नो ‘घरबार’ बिग्रिएर उल्टै पीडित हुन पुगेको जिकिर गरेका छन् । उनले श्रीमती ज्योति गुरुङसँग भएको सम्बन्धविच्छेद सक्कली रहेको दाबी गरेका छन् । सम्बन्धविच्छेदको कारण सहकारी नै भएको उनको भनाइ छ । रकम हिनामिना चाल पाएपछि मितेरी सहकारीका सञ्चालकहरूले धनराज र उनकी तत्कालीन पत्नी ज्योति गुरुङसहितलाई उपस्थित गराएर २०७६ पुस १६ मा छलफल गराएका थिए । त्यसको दुई महिनापछि धनराज र ज्योतिले ललितपुर अदालतमा सम्बन्धविच्छेद गरेका थिए ।

सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार बयानमा गुरुङले सम्बन्धविच्छेदका क्रममा पहिलेका सबै ऋण आफैंले सकार्ने, छोराछोरीको लालनपालन आफैं गर्ने र त्यसबापत ज्योतिले अंश दाबी नगर्ने सम्झौता भएको उल्लेख गरेका छन् । सहमतिअनुसार नै विच्छेदअघि र पछि मितेरी सहकारीबाट लिएको ऋणको साँवा–ब्याजसहित ८४ लाख रुपैयाँ चुक्ता गरिसकेको पनि उनले बयानमा बताएका छन् । गुरुङले सम्बन्धविच्छेदको १ वर्षपछि सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण लिँदा र २०७९ को आम निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा पत्नीको नाम ‘ज्योति गुरुङ’ लेखिएकाले नक्कली सम्बन्धविच्छेद गरेको आरोप पूर्वकानुनमन्त्री गुरुङमाथि लाग्दै आएको छ ।

बचतकर्ताले पाउने सुविधाअन्तर्गत आफूले छोरालाई विदेश पठाउन मितेरी सहकारीबाट ऋण लिएको बयान गुरुङले सीआईबीमा दिएका छन् । हालसम्म खुलेका प्रमाणमा गुरुङले सहकारीबाट लिएको सबै रकम चुक्ता गरिसकेको देखिएको सीआईबी प्रमुख थापाले बताए । ‘हाल फरार रहेका व्यक्तिहरू पक्राउ परेका बखत खुलेका तथ्य र प्रमाणबाट यसबारे अरू विषय अघि बढ्न सक्छ,’ उनले भने । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग सीआईबीले यसअघि नै गराएको बयान कागजमा धनराजले सहकारीबाट लिएको ऋण तिरेको उल्लेख छ ।

नेता गुरुङमाथि श्रीमतीलाई अघि सारेर मितेर सहकारीको रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । मितेरीका सञ्चालक बोधविक्रम थापाले ज्योति गुरुङ, धनराज गुरुङ, ज्योति भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलगायत ११ जनामाथि अनुसन्धान गर्न माग गर्दै गत साउनमा वाग्मती प्रदेशको सहकारी मन्त्रालयमा उजुरी दिएका थिए । त्यसको बोधार्थ सीआईबीमा पनि पुगेको थियो । सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा संघ मातहतको सहकारी, सरकारी, संसदीय छानबिन अध्ययन प्रतिवेदनका आधारमा मात्रै अनुसन्धान गर्न सकिने भन्दै सीआईबी त्यति बेला पन्छिएको थियो ।

प्रदेशको सहकारी मन्त्रालयले भने उजुरीमा उल्लिखित धनराज गुरुङसहित ६ जनाको नाम हटाएर ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध मात्रै अनुसन्धान एवं कारबाही अघि बढाउन सीआईबीलाई पत्र लेखेको थियो । वाग्मती प्रदेशमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री र कांग्रेसकै विमल ठकुरी सहकारीमन्त्री रहेकाले पार्टीका केन्द्रीय उपसभापति गुरुङलाई जोगाउन नाम हटाइएको भनी आलोचना हुँदै आएको थियो ।

सीआईबीका अनुसार ज्योति गुरुङ, ज्योति भण्डारीलगायतको योजनामा मितेरीबाट भएको हिनामिना रकम ब्याज जोड्दा १४ करोड ८१ लाख पुगेको छ । ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध सीआईबीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गराइसकेको छ । उनीहरू फरार रहेकै बेला सीआईबीले धनराज गुरुङसँग बयान लिएको हो ।

ज्योति गुरुङ कांग्रेस नेता गुरुङकै सिफारिसमा २०५७ जेठ १२ मा सहायकस्तरको कर्मचारीका रूपमा मितेरीमा प्रवेश गरेकी थिइन् । उनी २०५७ साउन २५ मा लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल हुँदै २०७५ वैशाख ४ मा संस्थाको महाप्रबन्धक बनेकी थिइन् । उनी महाप्रबन्धक भएपछि अनियमितताको शृंखला अघि बढेको देखिन्छ । ज्योति गुरुङले महाप्रबन्धक भएपछि ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा दिन थालेकी थिइन् । ज्योति गुरुङले सहकारीबाट ३० लाख, ४० लाख, ५० लाख गर्दै सापटी दिने गरेकामा भण्डारीले बढी ब्याजसहित फिर्ता गर्दै आएका थिए । भण्डारीलाई मिटरब्याजमै करिब साढे ३ करोड लगाएपछि भने रकम फिर्ता भएन, भण्डारी नै फरार भए । त्यसपछि सहकारीको रकम अपचलन अरूले पनि चाल पाएका थिए ।

सहकारीमा हिनामिना भएको रकमसँग आफ्नो कुनै साइनो नरहेको कांग्रेस नेता गुरुङले बयानमा उल्लेख गरेका छन् । ‘मैले सहकारीलाई भुक्तानी गर्नुपर्ने ८४ लाख रुपैयाँ सहकारीलाई तिरिसकेको छु, यसकै लागि घर पनि बेचें,’ उनले बयानमा भनेका छन्, ‘साँवा–ब्याज तिरिसकेको म कसरी सहकारी ठग भएँ ?’

धनराज गुरुङले सहकारीको ऋण तिर्न घर बेचेको दाबी गरिरहेका बेला उनले करछली र ललिता निवास जग्गा हिनामिनामा दोषी ठहर भएका व्यापारी मीनबहादुर गुरुङबाट स्वार्थ बाझिने गरी ९१ लाख २५ हजार ६ सय ३४ रुपैयाँ लिएको तथ्य बाहिर आयो । उक्त रकम सहकारीकै ऋण तिर्न लिएको धनराजको जिकिर छ ।

चर्चामा

सम्बन्धित समाचार