• होमपेज
  • राजनीति
  • ओखलढुंगा : समन्वय समितिमा भट्टराई सर्वसम्मत, वडामा एमाले-कांग्रेसबीच भीडन्त

ओखलढुंगा : समन्वय समितिमा भट्टराई सर्वसम्मत, वडामा एमाले-कांग्रेसबीच भीडन्त

  • बिहिबार, कार्तिक २९, २०८१
ओखलढुंगा : समन्वय समितिमा भट्टराई सर्वसम्मत, वडामा एमाले-कांग्रेसबीच भीडन्त

ओखलढुंगा — जिल्ला समन्वय समिति ओखलढुंगाको सभापतिमा नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेको छ। कांग्रेसको एकल बहुमत रहेको समितिको सभापतिमा पुराना नेता टेकराज भट्टराई चयन भएका हुन्।

कोशी प्रदेश कार्यसमितिले जिल्लाबाट पठाएका तीन जनाको नामबाट सर्वसम्मत भट्टराईलाई छनौट गरेको कांग्रेसको जिल्ला समितिका प्रवक्ता प्रदीप बानियाले जानकारी दिए। उनले भट्टराईका नाममा जिल्लामै सहमति नजिक पुगिएको र प्रदेशबाट निर्णय भएको अन्नपूर्णलाई बताए।

भट्टराई पञ्चायत कालबाटै शिक्षकको जागिर छाडेर राजनीतिमा लागेका पुराना नेता हुन्। २०७४ को स्थानीय चुनावमा चिशंखुगढी गाउँपालिमा अध्यक्षको टिकट पाएका थिए। त्यसबेला पराजित भएपछि उनी २०७९ मा वडा सदस्य उम्मेदवार बनेर जितेका थिए।

समन्वय समितिमा सभापति निर्वाचित डिल्लीराम खनालको निधनपछि एक बर्षदेखि समन्वय समितिमा सभापति खाली थियो। समितिमा भट्टराईका विपक्षमा अन्य सबै पार्टी मिल्दा पनि २ मत कम हुने भएकाले प्रकृयाका लागि मात्रै निर्वाचन हुने छ। समन्वयमा ८ स्थानीय तहका प्रमुख र उपप्रमुखको गरि १६ मत रहेको छ। यसमध्ये कांग्रेसको एक्लै ९ र अन्य दलहरूको गरी ७ रहेको छ।

वडामा कांग्रेस-एमाले भीड्दै
त्यस्तै मोलुङ गाउँपालिका वडा नं. ५ मा पनि वडा अध्यक्षको निधन भएपछि अध्यक्ष पदमा चुनाव हुँदैछ। ८ वडा रहेका उक्र पालिकाको केन्द्र रहेको वडा र एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारको समेत वडा रहेकाले महत्वका साथ हेरिएको उक्त वडामा एमाले र काँग्रेसले उम्मेदवार छानिसकेका छन्।

एमालेबाट गंगा तामाङ र काँग्रेसबाट घनश्याम दाहाल उम्मेदवार छन्। दाहाल साविक गाविस हुँदाका अध्यक्ष र शिक्षक हुन् भने तामाङ व्यवसायिक पृष्ठभूमिका पुनारा कार्यकर्ता हुन्। माओवादी केन्द्र, रास्वपा, नेकपा एस र राप्रपाले पनि उम्मेदवार उठाउने कसरत गरिरहेका छन्। उनीहरूले उम्मेदवार तय भने गरिसकेका छैनन्।

उम्मेदवार बनाउने अवस्था बुझेर फर्किएपछि एकीकृत समाजवादीका केन्द्रीय सदस्य नेत्र भट्टराई भूगोल बुझेर फर्किएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई सघाउने वा उम्मेदवार खडा गर्ने छलफल बाँकी रहेको बताए। माओवादी, नेकपा एसलगायतको साझा उम्मेदवार हुन सक्ने अनुमान गरिएको छ। मत परिणामलाई प्रभावित पार्ने गरि उम्मेदवार तय गर्ने पार्टीको नीति रहेको भट्टराईले बताए। यो वडामा काँग्रेसबाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो भने पालिकाचाहिँ एमालेले जितेको थियो।

चर्चामा

सम्बन्धित समाचार