काठमाडौं — एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनका लागि अन्य दलसँग गठबन्धन गर्ने भएको छ। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग सहकार्य गर्ने जनाएको छ ।
पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने र कमजोर रहेको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । एकीकृत समाजवादीले माओवादी केन्द्रलगायत दलसँग गठबन्धनका लागि छलफल गरिरहेको छ। एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेयले सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने जानकारी दिए।
यस्तो छ उपनिर्वाचन तालिका
आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।