• होमपेज
  • राजनीति
  • आरोपप्रत्यारोपमा ओर्लिए कांग्रेसका मन्त्री–सांसद, मन्त्रीले करोड खाएको बजगाईंको दाबी

आरोपप्रत्यारोपमा ओर्लिए कांग्रेसका मन्त्री–सांसद, मन्त्रीले करोड खाएको बजगाईंको दाबी

  • बुधबार, कार्तिक २८, २०८१
आरोपप्रत्यारोपमा ओर्लिए कांग्रेसका मन्त्री–सांसद, मन्त्रीले करोड खाएको बजगाईंको दाबी

काठमाडौं —नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई ध्वस्त बनाएको आरोप लगाएपछि उनीहरुबीच वादप्रतिवाद चलेको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि महँगो हवाई भाडा टिकट खरिद गर्न वाध्य बनाउने कार्यमा मन्त्री पाण्डे स्वयम् संलग्न रहेको बजगाईंको आरोप छ । हवाई र पर्यटन क्षेत्र सुधारका लागि मन्त्री पाण्डेलाई पटक पटक ध्यानाकर्षण गरेपनि मन्त्रीले नटेरेको बजगाईंले सुनाए ।

‘हवाइ उडान र पर्यटन क्षेत्र सुधारका लागि मैले धेरैचोटि उहाँलाई खबर गरें । उहाँले टेर्नुभएन,’ बजगाईंले भने । नेपाल उड्ययन प्राधिकरणलाई नियमन र सेवा प्रदायकलाई छुट्याउनु पर्ने निर्णय लिन मन्त्री पाण्डेलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नगरेको बजगाईंले बताए ।

मन्त्री कमिसनको खेलमा लागेको आरोप बजगाईले लगाएपछि मन्त्री पाण्डेले पनि उनको प्रतिवाद गरेका छन् ।

मंगलबार सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा मन्त्री पाण्डेले करोड होइन कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन छोड्ने बताएका छन् । पार्टीका सांसदले आफूमाथि आरोप लगाएपछि प्रतिवादमा उत्रेका मन्त्री पाण्डेले भने,‘निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबल गिराउने गरी काम गरिरहेका छन् ।’

मन्त्री पाण्डेले घुस खाएको दाबी सांसद बजगाईंको छ ।

कसम खाएर घुस खाएको विषय ढाकछोप हुन नसक्ने बजगाईंले जिकिर गरे । गण्डकीका एक पूर्व मन्त्रीसँग र भैरहवामा क्यासिनो सञ्चालन अनुमति लिनका लागि अर्का एक व्यक्तिले पर्यटनमन्त्रीलार्ई पैसा दिएको जानकारी आफूसँग रहेको बजगाईंले दाबी गरे । अदालतले दिएका आदेशविरुद्ध हुनेगरी मन्त्री पाण्डेले निर्णय लिएको उनको आरोप छ ।

नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने पक्षमा सभापति शेरबहादुर देउवा रहे पनि मन्त्री पाण्डेले बचाउ गरेको बजगाईको जिकिर छ ।

‘भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थें तर सभापति र वहाँको परिवारले दिएनन्’ भन्दै मन्त्रीले भनेको कुरा झूठो भएको बजगाईंले बताए ।

‘सभापति, गृह र परराष्ट्रमन्त्री आफैं क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई व्रिफिङ गरेको १५ जना सांसद साक्षी छौं,’ बजगाईले भने । गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति देउवा सहित सांसदहरुले प्राधिकरण नियामक र सेवाप्रदायक गरी छुट्याउनु पर्ने माग सहित भेटेका थिए ।

मन्त्री पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंलाई राजनीतिक विकृति विसंगतिको मतियार भएको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाललाई हल्लाका रुपमा प्रयोग आफू विरुद्ध अफवाह फैलाइएको भन्दै उनले आक्रोश व्यक्त गरे । स्वार्थ समूहका मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगरेको मन्त्री पाण्डेको दाबी छ ।

रोचक के छ भने संगीन आरोपप्रत्यारोपमा ओर्लदा आफ्नो पदीय ओहदाको मर्यादा नै भुलेका मन्त्री पाण्डे र बजगाईं कांग्रेसभित्र भने एउटै समूहमा रहेका छन् । संस्थापनइतरको शेखर गगन समूहमा रहेका दुई नेता आरोप प्रत्यारोपमा उत्रदा पार्टी पंक्तिको धारणा भने अहिलेसम्म आएको छैन । बजगाईले भने गुटगत पक्षधरता नहेरी मन्त्रीका क्रियाकलापको विरोधमा ओर्लेको दाबी गरे ।

‘यो कुरामा म एक्लै कहाँ छु र? हाम्रो समूहका नेताहरुलाई पनि भनेको छु । मन्त्रीलाई पैसा दिएको कुरा त गण्डकीका पूर्वमन्त्रीले समेत भनेका छन्,’ बजगाईंले जिकिर गरे ।

अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार