• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा दसैँ-तिहारमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय बढी सवारी साधन कारवाहीमा

बाजुरामा दसैँ-तिहारमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय बढी सवारी साधन कारवाहीमा

करिब २ लाख राजश्व संकलन

  • आइतवार, कार्तिक २५, २०८१
बाजुरामा दसैँ-तिहारमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय बढी सवारी साधन कारवाहीमा

बाजुरा —यस बर्षको दसैँ-तिहारमा बाजुरा जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय बढी सवारी कारवाहीमा परेका छन् । दशैँ सुरु भएदेखि कात्र्तिक २४ गतेसम्म जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने ३ सय १९ वटा सवारी साधनमाथि कारवाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय बाजुराका अनुसार सो अवधिमा सवारी कारवाहीबाट एक लाख ९४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका सहायक हवल्दार हर्क बहादुर सिजालीले दसैँ-तिहारमा सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने १ सय ७४ जीप /कारबाट ९८ हजार ५ सय, ९८ मोटरसाइकलबाट ६६ हजार, १७ ट्याक्टरबाट १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको बताएका छन् । त्यस्तै १५ वटा अटोबाट १० हजार ५ सय, १३ ट्रकबाट ७ हजार ५ सय र २ बसबाट १ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको सहायक हवल्दार सिजालीले बताए ।

जिल्ला ट्राफिक कार्यालयले जिल्लामा सवारी साधन दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि चालकसँग एक मिनेट कार्यक्रम, यात्रुलाई सम्झाउने जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने सवारी चेकजाँचमा समेत कडाइ गर्दै आएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार