• होमपेज
  • बाजुरा बिशेष
  • तिहार विदापछि खुलेका बाजुराका सरकारी कार्यालयमा धेरैजसो कर्मचारी अनुपस्थित

तिहार विदापछि खुलेका बाजुराका सरकारी कार्यालयमा धेरैजसो कर्मचारी अनुपस्थित

  • मङ्लबार, कार्तिक २०, २०८१
तिहार विदापछि खुलेका बाजुराका सरकारी कार्यालयमा धेरैजसो कर्मचारी अनुपस्थित

बाजुरा —नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएको एक दिनपछि खुलेका सरकारी कार्यालयहरुमा धेरैजसो कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ । यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिनको सार्वजनिक बिदा सकिएसँगै मंगलवार खुलेका बाजुराका सरकारी कार्यालयहरु कार्यालय सहयोगीकै भरमा देखिएका हुन् ।

जिल्लामा रहेको संघ तथा प्रदेश अन्तर्गतका सबै कार्यालयहरुमा केहि फाँट कर्मचारी र कार्यालय सहयोगी मात्रै उपस्थित भएका छन् । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ, सामाजिक विकास कार्यालय लगायतका कार्यालयहरुमा कार्यालय सहयोगी मात्रै उपस्थित रहेका देखिए । त्यसै गरी मालपोत कार्यालयमा कार्यालय प्रमुख सहित केहि कर्मचारी भएपनि सूचना अधिकारी सहितका कर्मचारीहरु बिदामा रहेका बसेका जनाएको छ ।

त्यस्तै जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिचाई डिभिजन, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरुमा केहि फाँट कर्मचारी बाहेक कार्यालय प्रमुख सहित अनुपस्थित रहेको पाइएको छ । तिहार विदा सकिएर कार्यालय खुलेपनि जिल्लाका सरकारी कार्यालयहरु भने सुनसान छन् । कार्यालयमा कर्मचारीहरुका कुर्सी खाली छन् भने उपस्थित कर्मचारीहरु पनि काम नगरी गफगाफ र घाम ताप्नैमा व्यस्त देखिए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले तिहार बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको उपस्थिति र चहल पहल कम भएको हुन सक्ने बताएका छन् । उनकाअनुसार तिहार सकिएपनि छठ पर्व बाँकी रहेकोले टाढा रहेका कर्मचारीहरु फर्कने क्रममा रहेका छन् ।
त्यस्तै दशैं र तिहारमा सुनसान बनेको जिल्ला सदरमुकाम मार्तडीमा चहलपहल बढ्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार